सूर्यांश वैद्यः बिँडो थाम्दै, जम्प हान्दै

सूर्यांश वैद्य

काठमाडौं । बुवा सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष एवं उच्च कद भएका उद्यमी । आमा रितुसिंह वैद्य, पूर्व मिस इण्डिया, नेपालमा सफलता चुमिरहेकी महिला उद्यमी । सुरज र रितुको छोरा भन्नेबित्तिकै सूर्यांश वैद्यलाई व्यावसायीक जगतमा धेरैले चिन्दछन् । तर सूर्यांशलाई आफ्नै नामले चिनिनु छ । 

वहालवाला वा पूर्वमन्त्री, सांसद्, सचिव, न्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक वा उच्च सरकारी पदमा पुगेको वर्तमान वा पूर्व हाइप्रोफाइल व्यक्तिका छोरो छोरी नेपालमा बस्दैनन्, विदेशमा पुगेका हुन्छन् । तर धेरै कठिनाइ र झमेलाका बीच व्यवसायीका छोराछोरी नेपालमा नै केही गर्न प्रयत्नशील छन् । तिनैमध्ये एक हुन् सूर्यांश । उनका सबै साथीहरू अहिले विदेशमै रमाइरहेका छन् । तर उनी आफ्नै देशमा केही गर्नुपर्छ भनी व्यवसायमा लागिरहेका छन् । 

विदेशको सिकाइ अनुभव सँगाली नेपाल फर्केका उनी पैतृक व्यवसाय समाल्दै छन् ।  अटोमोबाइल, कृषि, कन्ट्रक्सन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका वैद्य अर्गनाजेशन अफ इण्ड्रष्ट्रिज एण्ड ट्रेडिङ हाउजेजमा उनी निर्देशकको भूमिकामा छन् । साथै वैद्य इनर्जीका सीईओ र पिटस्टप इन्कर्पोरेटेडका संस्थापकको रूपमा काम गरिरहेका छन् । भन्छन्, ‘मै धेरै विभाग हेरिरहेको छु, तर यसमध्ये विशेषगरी अहिले वैद्य इनर्जीलाई बढी समय दिइरहेको छु ।’

जान्दैनन् नेपाली

सूर्यांश काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के तर उनलाई नेपाली भाषामा बोल्न कठिन हुन्छ । अरू नेपालीले झैं उनले कखगघ पढेनन्, एबीसीडी मात्र पढे । उनको परिवार बहुसांस्कृतिक र बहुभाषी छ । आमा रितु धेरैजसो अंग्रेजी र कहिलेकाहीं हिन्दी बोल्थिन् । बुवा र अन्य सदस्यले घरमा बोल्ने भाषा अंग्रेजी नै थियो । सूर्यांश सुरुमा काठमाडौंको बाफलस्थित रुपीज इन्टरनेशनल स्कूलमा पढे, जहाँ हिन्दीमा पढाइ हुन्थ्यो । पछि सानेपास्थित ब्रिटिश स्कुल हुँदै रविभवनको लिंकन स्कुलमा कक्षा १२ सम्म पढे, जहाँ पुरै अंग्रेजीमा पढाई हुन्थ्यो । कलेज पढ्न अमेरिका गए । बेन्टले यूनिभर्सिटीबाट व्यवस्थापन र उद्यमशीलता विषयमा ब्याचलर्स डिग्री लिए । अमेरिकामा पढ्दा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र धेरै विषयमा सिक्ने अवसर पाएको, व्यवसाय कसरी गर्ने, त्यसमा के के चाहिन्छ, सरकारसँग कसरी समन्वय गर्ने भन्ने यावत कुराहरू पढ्दै गर्दा थाहा पाएको उनी सुनाउँछन् ।
  
सूर्यांश पढाइ सकेर नेपाल फर्किँदा कोभिड महामारी थियो । जनमानसमा ठूलो त्रास थियो । त्यहीबेला उनले कुन क्षेत्रमा व्यवसाय कसरी गर्दा ठीक हुन्छ अनुसन्धान गरे । ‘मैले त्यो बेला नेपालका उद्योगहरूबारे जान्ने अवसर पाएँ । कृषि, इनर्जी, मोबिलिटी इनर्जी धेरै क्षेत्रको रिसर्च गरें, सबैभन्दा बेस्ट मलाई यो व्यवसाय लाग्यो र यही क्षेत्र रोजें,’ उनले भने ।

सूर्यांशका दुईजना दिदी छन् । जेठी दिदी अमेरिकामा छिन् भने माइली हस्पिटालिटी क्षेत्रमा काम गर्छिन् । उनको नेतृत्वमा चितवनमा होटल निर्माणाधीन छ । उनको काका सुरेश वैद्यले कृषि क्षेत्र हेरिरहेका छन् । ‘हजुरबाले जिरोबाट सुरु गरेको व्यवसायलाई मेरो बुवाले यहाँसम्म ल्याउनुभयो, अब मेरो जिम्मेवारी यो व्यवसायलाई कसरी अगाडि लैजाने भन्ने हो,’ उनले सुनाए ।

सूर्यांश व्यवसायमा लागेको पाँच वर्षमात्र भयो । यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उनी बताउँछन् । उनी उत्साहित छन् । भन्छन्, ‘भर्खरै एथरको ४५० एक्स लन्च गरेका छौं । यसमा धेरै काम भइरहेको छ । केही नयाँ गर्ने प्रयास गरिरहेको छु । अहिले म निकै उत्साहित छु । 

वैद्य इनर्जी

वैद्य इनर्जी भारतमा निर्मित दुईपाँग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनी बताउँछन् । 

विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । ‘नेपालको इभीको पुरै इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका छौं । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ,’ उनले भने । 

पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । पछिल्लो समय नेपालमा व्यावसायीक जटिलता बढेको व्यवसायीको अनुभव छ । सूर्यांशलाई पनि त्यस्तै लाग्छ । नेपालभन्दा बाहिर गएर काम गर्न भने सजिलो हुने उनी बताउँछन् । तर उनलाई आफ्नै देशमा व्यवसाय गर्न मन छ । ‘व्यवसाय’ सूर्यांशको प्यासन हो । त्यसमा पनि अटोमोबाइल उनलाई अझ बढी मन पर्छ । 

आमाबुवासँग सहज सिकाइ

आमाबुवा दुवैजना व्यवसायमा हुँदा सूर्यांशलाई धेरै कुरा सिक्न सहज भयो । जब उनको स्कुल बिदा हुन्थ्यो उनी बुवाआमासँगै अफिस जान्थे ।  बुबाआमाले व्यवसायसम्बन्धी कुनै कार्यक्रम, मिटिङ जानुपर्दा उनलाई पनि सँगै लिएर जान्थे । 

कार्यक्रममा, बैठक धेरैमा उनी सानो हुँदै सहभागी हुने अवसर पाउँथे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई व्यवसायका बारेमा थाहा थिएन तर, बिजनेसमा कसरी कुरा गर्ने, के गर्ने, के हुन्छ, समस्याहरू कस्ता आउन सक्छन् भन्नेबारेमा आमाबुवाकै कुरा सुनेर थाहा पाएको थिएँ ।’ 

व्यवसाय गर्नु सूर्यांशका लागि रहर कि बाध्यता ? हामीले प्रश्न गर्यौं । धेरैले यही प्रश्न गर्ने गरेको उनले बताए । र भने- 'दुइटै । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने पहिलेदेखि नै लागेको थियो । अनि अर्को- आउनैपर्ने बाध्यता पनि ।’ बुबा, आमाले जहिल्यै पनि इच्छाअनुसार काम गर्न प्रेरित गरेको पनि उनले बताए । 

नेपालमै उत्पादन गर्ने लक्ष्य

उनी व्यवसायमा बाउबाजेको बिँडो थाम्नेमात्र नभई त्योभन्दा केही फरक गर्ने अठोटका साथ लागेका छन् । सूर्यांशलाई विदेशबाट दुई पाँग्रे सवारी आयात मात्र गर्नु छैन । उनको लक्ष्य नेपालमै सवारी उत्पादन गर्ने छ । नेपाली बजारमा इलेक्ट्रिक दुई पांग्रेको हिस्सा तीन प्रतिशतमात्र छ । बाँकी ९७ प्रतिशत अझै आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीहरू छन् । 

उनी भन्छन्,‘नेपालमा ईभी धेरै प्रयोगमा नआएकाले पनि हुनसक्छ, ग्राहकरूले यसको ब्याट्री कति टिक्छ भनी प्रश्न गर्छन् । यो नेपालीको हकमा महँगो पनि छ तर मर्मत खर्च भने निकै कम छ ।’ पछिल्लो समय देशमा ईभीका लागि पूर्वाधार बन्दै जाँदा बिस्तारै सहज परिस्थिति आउनेमा उनी ढुक्क छन् । 

नेपालमै दुई पाङ्ग्रे इभी उत्पादन कठिन भएको उनी बताउँछन् । ‘सरकारको नीति सहज छैन । यसका लागि चाहिने सामाग्रीहरू धेरै बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसरी ल्याउँदा भन्सार शुल्क पनि उत्तिकै महँगो छ । 

सूर्यांश अबको पाँच वर्षपछि ३० प्रतिशत पार्टपूर्जा आफै उत्पादन गर्ने दाबी गर्छन् । भन्छन्, ‘मेरो काम विदेशबाट सामग्री आयात गरेर नेपाली बजारमा सप्लायर्स गर्नुमात्र होइन, मैले यही उत्पादन गर्ने योजना बनाएको छु ।’ 

‘अहिले विभिन्न देशहरू उत्पादनमा क्षेत्रमा धेरै प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले हरेक सामग्रीको लागि परनिर्भर रहनुपर्ने बाध्यता छ । सरकार र निजी क्षेत्र सबैले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोंच्नुपर्छ ।’

कम्बोडिया पनि पहिले नेपाल जस्तै अवस्थामा रहेको तर पछिल्लो समय कम्बोडियाले धेरै उन्नति गरेको सूर्यांश बताउँछन् । ‘त्यहाँको अवस्था पनि नेपालकै जस्तो छ । त्यहाँका युवाहरू पनि बाहिर गएर भविष्य खोजिरहेका हुन्थ्ये । तर त्यो देशमा टोयोटाको एसम्बल प्लान्ट बन्यो, उक्त प्लान्टमा हजारौं मानिसले रोजगारी पाएका छन् । उनी नेपालमा पनि यस्तो अवसर दिनसक्यो भने नेपाली युवा विदेशीनु नपर्ने बताउँछन् । यसका लागि निजी क्षेत्रले काम गर्न निकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् । 

 

भिजनरी बुबाको साथ

 

सूर्यांशको बुबा सुरज पाँच बजे नै उठ्छन् । ७ बजे अफिस पुगिसक्छन् । बुवाबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको सूर्यांश बताउँछन् । कम्युनिकेशन, प्यासन्स, भिजन उनी सबैभन्दा यी तीनकुरा बुवाबाट सिक्न निकै आवश्यक रहेको सुनाउँछन् । 

अमेरिकाबाट फर्केपछि उनले सुरुमा मार्केटिङबाट काम थाले । त्यसमा आमाले साथ दिइन् । 

तर अमेरिकामा सिकेको कुरा नेपालमा लागू कठिन भयो सूर्यांशलाई । यतिबेला फेरि बुबा सुरज वैद्यले साथ दिए । उनी भन्छन्, ‘बुवाको त्यस्तो भिजन कहाँबाट आउँछ, मैले अहिलेसम्म बुझ्न सकेको छैन, बुवाले मलाई काम गर्ने राम्रो ठाउँ र अवसर दिनुभएको छ । म त्यो मानेमा निकै भाग्यमानी हुँ।’ 

Share News