क्यापिटल मर्चेन्टले १३ वर्षको साधारण सभा एकैपटक गर्‍यो, सञ्चालकमा को-को चुनिए?

काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले १३ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । यस साधारण सभाको अध्यक्षता क्यापिटल मर्चेण्टका अध्यक्ष तिलक बहादुर रानाभाटले गरेका थिए । सभा २०६७/०६८ देखि ७९/०८० सम्मको वार्षिक विवरणको आधारमा सम्पन्न भएको हो ।

नेपाल राष्ट्र बैंकले २०६९ सालमा क्यापिटल मर्चेण्ट बैंकिङलाई समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैंकिङ कारोबारमा रोक लगाएको थियो, जसका कारण उक्त अवधि भरि साधारण सभा गर्न असम्भव भएको थियो । तर, हालै वित्तीय अवस्थामा सुधार ल्याएर लेखा परीक्षण कार्यहरू सम्पन्न गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि क्यापिटल मर्चेण्ट बैंकिङले १३ आर्थिक वर्षको साधारण सभा आयोजना गरेको हो ।

सभाले विगतका १३ वर्षको वित्तीय विवरण पारित गर्दै, लेखा परीक्षक नियुक्तिको अनुमोदन, संचालक समितिमा भएका परिवर्तन र कामकाजी कार्यहरूको अनुमोदन, ऋण असुली कार्यहरूको अनुमोदन, र संस्थाको नाम परिवर्तनको प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । साथै, गाभिने विषयहरू पनि सर्वसम्मत पारित भएका छन् ।

सभामा संस्थाको विनियमावलीको अनुरूप निर्वाचन पनि सम्पन्न भएको छ । संस्थापक सेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल, र रञ्जन रायमाझी निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालकका रुपमा राजेश्वर श्रेष्ठ चयन भएका छन् ।

सभामा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले संस्थाको वर्तमान वित्तीय अवस्थाबारे विस्तृत रूपमा जानकारी दिएका थिए । उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा सुधार गर्नका लागि नयाँ कार्ययोजना तयार गरिएको र नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा समस्याग्रस्त संस्थाबाट फुकुवा हुने प्रक्रिया जारी रहेको जानकारी गराए ।  

Share News