काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले समग्र वित्तीय शोषणको अन्त्यको माग गर्दै मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली गर्दै सरकार र राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘पीडितको वचत अपचलन गर्ने ठगहरू विश्वासघाती’, ‘सात पुस्ते सम्पत्ति जफत गर’, ‘सहकारीको पौने तीन खर्ब रुपैयाँ कसले खायो ?’ लगायतका प्लेकार्डहरू बोकेर नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी पीडितहरूले सहकारी संस्थाको प्रभावकारी अनुगमन, नियमन र नियन्त्रण नभएको भन्दै सरकारलाई 'नालायक' भन्दै आलोचना गरे। उनीहरूका अनुसार सहकारी, लघुवित्त र मिटरब्याजका नाममा देशभर हजारौं सर्वसाधारण ठगिएको र अझैसम्म न्याय नपाएको अवस्था छ।
यसअघि सोमवार पनि उनीहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म र्याली गर्दै आन्दोलित आवाज सुनाउन प्रयास गरेका थिए।
पीडितहरू आफ्नो लगानी फिर्ता गरिदिन र जिम्मेवार निकायहरूलाई कडाइका साथ कारबाही गर्न सरकारसँग माग गरिरहेका छन् ।