साढे ४ करोडमा किनेको भवनमा सर्‍यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवन कार्यालयमा सरेको छ । काठमाडौंको सिफल क्षेत्रमा चार करोड ५३ लाखमा खरिद गरेको भवनमा संघको नयाँ कार्यालय उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भवन उद्घाटन गर्दै व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि काम गर्ने महत्त्वपूर्ण अवसर भएको बताए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्यहरू गर्न सकेकोमा गर्व महसुस गरेको बताउँदै भवनको विषयलाई लिएर आलोचना नगर्न अनुरोध गरे ।

संघको भवन खरिदका लागि मेनपावर व्यवसायीहरू र संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए । यसैगरी, द रिभर ओभरसिज प्रालिले १४ लाख ५१ हजार रुपैयाँको सहयोग प्रदान गरेको थियो ।

३२ वर्षसम्म भाडामा कार्यरत रहेको संघले अब आफ्नै भवनमा कार्य सञ्चालन गर्ने अवसर पाएको छ ।

Share News