काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले रोजगारी दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले मंगलबार उक्त घोषणा गरेका हुन् ।
यसअघि नै भाटभटेनीले उक्त घटनामा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख र सविन महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको थियो ।
अध्यक्ष गुरुङ स्वयं दुवै परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणको क्रममा उनले यो दुःखद घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता जनाउन आफू उपस्थित भएको बताएका थिए ।
चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा तीनकुनेमा सविन महर्जनको गोली लागेर र सुरेश रजकको आगोमा परेर मृत्यु भएको थियो ।