काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका सवारी साधनको विषयमा बेला बखत चर्चा हुने गर्छ । सरकारले पुराना सवारी साधनको मर्मत सम्भार तथा उचित व्यवस्थापन नगरेर नयाँ सवारी साधन खरिद गर्न लागेको भन्दै आलोचना पनि हुने गर्छ । सञ्चार माध्यमले समेत सिंहदरबार पुराना सवारी साधनको पार्किङ स्थल अर्थात् कवाडी खाना भएको भन्दै आलोचना गर्ने गरेका छन् ।
यो समस्याबाट छुटकारा पाउन सरकारका सचिवहरूले अनौठो निर्णय गरेका छन् । गत चैत ४ गते बसेको सचिवहरूको बैठकले सिंहदरबारभित्रका मन्त्रालयमा रहेका सवारी साधनलाई मन्त्रालय मातहतका निकायमा पठाएर मन्त्रालयमा नयाँ सवारी साधन मात्रै राख्ने निर्णय गरेको हो ।
सचिवस्तरीय सो बैठकको निर्णय छ, ‘सबै मन्त्रालयले सिंहदरबार परिसरभित्र आ-आफ्नो मन्त्रालय र मातहतका निकायका नाममा रहेका पुराना र काम नलाग्ने सवारी साधन सिंहदरबार बाहिरका कार्यालयमा हस्तान्तरण वा भण्डारण गरी जिन्सी सामग्रीको उचित व्यवस्थापन एबम् सिंहदरबार सौन्दर्यको कार्य समयमै सम्पन्न गर्ने गराउने ।’
सचिवहरुको यो निर्णयले विभिन्न सरकारी कार्यालयहरु भने समस्यामा परेको गुनासो गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको एक कार्यालयका प्रमुखले सचिवहरुको यो निर्णयले आफूहरुलाई समस्या भएको सुनाए ।
‘सबै नयाँ सवारी साधन मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने, हामी कार्यालयहरुमा कार्यरत कर्मचारीले पुरानै सवारी साधन चलाउनु पर्ने देखियो, पुराना सवारी साधनको व्यवस्थापन पनि हामीलाई नै गर्नु भनिएको छ,’ ती अधिकारीले भने, ‘सचिवहरुले मन्त्रालयमा कार्यरत कर्मचारी र सिंहदरबार बाहिरका कर्मचारीलाई गर्ने व्यवहार फरक भयो ।’
भौतिक पूर्वाधार तथा यायतायात मन्त्रालयकी सूचना अधिकारी शोभा श्रेष्ठले सिंहदरबारलाई सुन्दर बनाउने योजना अनुरुप यो निर्णय गरेको बताइन् । ‘मर्मत गर्न मिल्ने सवारी साधनलाई मर्मत गरेर चलाउन सकिन्छ, कबडा भइसकेकालाई लिलाम गर्न सक्नुहुन्छ, मन्त्रालयले हस्तान्तरण गरेपछि ती कार्यालयहरुलाई लिलाम गर्ने बाटो पनि खुल्छ,’ उनले भनिन् ।
सरकारले सिंहदरबारको सौन्दर्यता बढाउन कबाडी अवस्थामा रहेका सवारी साधनलाई मन्त्रालय मातहतका विभिन्न कार्यालयमा पठाउने निर्णय गरेको हो । अहिले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका पार्किङ पुराना तथा थोत्रा सवारी साधनले भरिएका छन् ।
समयमै मर्मत गर्नुको सट्टा नयाँ सवारी साधन खरिद गर्ने सरकारी प्रवृतिको कारण सिंहदरबार अहिले कबाडीखानाझैं बनेको छ । सरकारले वार्षिक अर्बौं रुपैयाँ नयाँ सवारी साधन खरिदमा खर्च गर्दैै आएको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले सरकारी निकायमा पुराना र प्रयोगविहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने उद्घोष पनि गरेको थियो ।