काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०७९ माघ ६ गते सम्पन्न २९ औं साधारण सभाबाट निर्वाचित कार्यसमितिले मंगलबार २६ महिनापछि नेतृत्व हस्तान्तरण गर्दैछ । कार्यकाल अवधिभर संघले धेरैजसो प्रतिबद्धता पूरा गर्नुका साथै केही एजेण्डाहरू अधुरो अवस्थामा छन् । जसलाई अब नयाँ नेतृत्वले निरन्तरता दिने जनाइएकाे छ ।
संघको यो कार्यकाल आरोह-अवरोहले भरिपूर्ण रहे पनि कार्यसमिति आफ्नो जिम्मेवारीबाट विचलित नभइकन अग्रसर रहेकाे संघले जनाएकाे छ । संघ स्थापना भएको ३२ वर्षपछि पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएकाे छ, जुन संघको ठूलो उपलब्धी मानिएको छ ।
सो भवनको औपचारिक उद्घाटनसमेत भइसकेको संघले जनाएकाे छ ।
संघको कार्यसमितिभित्र देखिएको एकता र परिणाममुखी कार्यशैलीकै कारण पछिल्लो कार्यकाल उपलब्धीमूलक रहेको विज्ञप्तिमा उल्लेख छ । पदाधिकारीहरूबीचको समन्वय, पारदर्शी निर्णय र जिम्मेवारी निर्वाहले संघलाई सामाजिक, नीतिगत र व्यावसायीक दृष्टिले सबल बनाएकाे उल्लेख छ ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित अघि बढेको संघले विभिन्न ऐतिहासिक कामहरू सम्पन्न गर्यो । यद्यपि केही दीर्घकालीन एजेण्डाहरू अझै अपुरो रहेकाले नयाँ नेतृत्वले अगाडि बढाउनु आवश्यक देखिएकाे विज्ञप्तिमा उल्लेख छ ।
संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०८१ फागुन २ गते हुने तय भए पनि प्राविधिक कारणले स्थगित गरिएको थियो । त्यसपछि २०८२ असार १७ गते गर्ने निर्णय भए पनि संघले त्यसअघि नै २०८१ चैत्र २९ गते नै साधारणसभा तथा निर्वाचन गर्ने निर्णय भएको छ ।
वर्तमान कार्यसमितिको प्रमुख उपलब्धिहरू
आफ्नै प्रशासनिक भवन खरिद
वैदेशिक रोजगार विभाग परिसरमा गुनासो सुनुवाइका लागि मेलमिलाप कक्ष निर्माण
व्यवसायी तथा कामदारका करिब ३ हजार ४ सय उजुरीहरूको समाधान
सरकारी र गैरसरकारी संस्थासँग सहकार्य मजबुत
नीतिगत सुधार र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता
यूएईमा रोजगार मेला तथा साउदी, कतार, मलेसिया लगायत देशमा अन्तरक्रिया कार्यक्रम
नयाँ नियुक्त नेपाली कुटनैतिक प्रतिनिधिसँग निरन्तर समन्वय
सदस्य संख्या झण्डै १ हजार
व्यवसायीमाथि हुने आक्रमण विरुद्ध एकता र सुरक्षाको प्रत्याभूति
वैदेशिक रोजगार ऐन संशोधनमा महत्त्वपूर्ण प्रगति
मलेसियामा कामदारमाथि लगाइएको ४४५ शुल्क विरुद्ध सफल आन्दोलन
धरौटीबाट २५५ व्याज वैदेशिक रोजगार कोषमा लगानी
व्यवसायीका लागि आगामी योजनाहरू
१. समय सापेक्ष ऐन र नियममा सुधार
२. सेवा शुल्क र कामदार लागत व्यवस्थापन
३. नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता
४. मागपत्र प्रमाणीकरणमा सहजीकरण
५. तिनकुनेस्थित संघको जग्गामा स्मारक निर्माण
६. भवन क्षेत्र विस्तार
७. सीपसहित फर्किएका श्रमिकको पुनः रोजगारी व्यवस्थापन
कामदारका लागि भावी योजनाहरू
१. श्रम सम्झौतामा २४ घण्टे वीमा सुनिश्चितता
२. न्यूनतम ज्यालाको सुनिश्चितता
३. अस्वस्थ प्रतिस्पर्धा अन्त्यका लागि साझेदारी नीति
४. सीप विकासका कार्यक्रम
५. प्रि-डिपार्चर तालिम
६. वित्तीय साक्षरताको ज्ञान
७. सामाजिक सुरक्षा कोषमा आबद्धता अभियान
संघले अन्त्यमा नेपाल सरकार, सम्बन्धित मन्त्रालय, विभाग, आम व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई सहयोगका लागि आभार प्रकटसमेत गरेको छ ।