वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पौडेल

काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। 'कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' नारासहित सुरु भएको सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे।

कार्यक्रममा मन्त्री पौडेलले कर प्रणाली सुधार, दायरा विस्तार र पारदर्शी वित्त व्यवस्थापनका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सुशासन र स्रोतको प्रभावकारी उपयोगमा लेखा व्यवसायीप्रति राष्ट्रले ठूलो आशा राखेको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सरकार र लेखा व्यवसायी मिलेर पारदर्शी बजेट प्रणाली निर्माण गर्नुपर्ने बताए ।

आईक्यान अध्यक्ष सिए प्रवीण कुमार झाले कर प्रशासनको आधुनिकीकरण र डिजिटलाइजेशनमा लेखा व्यवसायीको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

सम्मेलनमा भारत र दक्षिण एशियाली मुलुकका वक्ताहरूले नवप्रवर्तन, प्रविधि र पारदर्शितामूलक कर व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

बुधबारसम्म चल्ने सम्मेलनमा १ हजारभन्दा बढी लेखा व्यवसायीको सहभागिता रहेको छ ।

Share News