सेनिटरी प्याड खरिदमा ६० लाख रुपैयाँ भ्रष्टाचार, मिलेमतो गरी गैरकानुनी लाभ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उप-महानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९.१ रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ विरुद्ध ५१ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागर देवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साह विरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साह विरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

Share News