दाउन्ने खण्ड आजदेखि ४ घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा आज (चैत २७) देखि सडक मर्मत तथा विस्तार कार्यका लागि अत्यावश्यक बाहेक सवारी आवागमन चार घण्टा बन्द गरिएको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार चैत २७ देखि ३१ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ । वैशाख १ देखि १५ गतेसम्म भने राति ११ देखि बिहान ५ बजेसम्म सडक बन्द गरिनेछ ।

एम्बुलेन्स, दमकल, प्रहरीलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई भने आवागमन गर्न दिइनेछ।

साँघुरो सडक, भित्ताकाट, पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका कारण दाउन्ने खण्डमा दैनिकजसो जाम हुने गरेको र यात्रुहरूले कठिनाइ खेपिरहेका कारण बर्खाअघि सडक बन्द गरेर काम तीव्र बनाइने अधिकारीले बताए । ठेकेदार कम्पनीले रातको समयमा आवश्यक प्रकाशको व्यवस्था गरेर काम अघि बढाउने प्रतिवद्धता जनाएको छ ।

Share News