काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधार हुने अनुमान गरेको छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र सुधारको गतिमा रहने प्रक्ष्येपण गरेको हो ।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने अनुमान गरेको एडीबीले आगामी आर्थिक वर्षमा सो वृद्धिदर ५.१ प्रतिशत पुग्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो भने अघिल्लो आवमा २ प्रतिशतमा सीमित बनेको थियो ।
यस्तै, एडीबीले आगामी आर्थिक वर्षमा नेपालको मुद्रास्फिति ५ प्रतिशतमा झर्ने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्म ५.२ प्रतिशत कामय हुन सक्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षको नेपालको मद्रास्फिति अर्थात् महँगी ५.४ प्रतिशत र अघिल्लो आर्थिक वर्षमा ७.७ प्रतिशत पुगेको थियो ।
एडीबीले नेपालको सेवा क्षेत्र, जलविद्युत उत्पादन र धान उत्पादनमा वृद्धि भएपछि आर्थिक वृद्धिदरमा सुधार हुँदै गएको बताएको छ । खाद्यबाहेकका वस्तुहरूमा मूल्यवृद्धि कम भएपछि मुद्रास्फीति घट्न पुगेको, व्यापार घाटा कम भएको तथा रेमिट्यान्स आम्दानी बढ्नाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक माग थप सशक्त हुँदै जाँदा, जलविद्युत निर्यात बढ्दै जाँदा र पर्यटन क्षेत्र मजबुत हुँदा आर्थिक वृद्धिदर अझै बढ्ने जनाएको छ । विश्व बजारमा तेलको मूल्य केही घट्ने अनुमानसँगै नेपालको मुद्रास्फीति पनि घट्न सक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्स स्थिर रहँदा आयात बढ्ने भएकाले चालु खाता घाटामा जान सक्ने प्रक्ष्येपण पनि गरिएको छ ।
पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।