काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी सभापति रवि लामिछानेको गैरकानुनी पक्राउप्रति विरोध जनाउँदै बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।
उनीहरूले लामिछानेको पक्राउ प्रक्रियामा राज्य संयन्त्रबाट मानवअधिकार उल्लंघन भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
रास्वपाका अनुसार अदालतको आदेश बिना, कुनै कानुनी प्रक्रियाको पालना नगरी, दलबलसहित लामिछानेको निजी सयनकक्षमा प्रहरी पुगेर बल प्रयोग गरिएको हो । यस प्रकारको ज्यादती संविधान र मानव अधिकार विपरित रहेको रास्वपाको ठहर छ ।
'सभापति लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको बलप्रति गम्भीर आपत्ति जनाउँदै दोषी अधिकारीमाथि कारबाही हुनुपर्छ,' आयोगमा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
रास्वपाले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।