आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तर संसदीय संघ (आईपीयू) को महासभाबाट नवगठित स्वास्थ्यसम्बन्धी समितिकी सदस्यमा निर्वाचित भएकी छन् ।

आईपीयूको शासकीय परिषद्ले गौतमसहित १५ मुलुकका प्रतिनिधिहरूलाई चार वर्षका लागि समितिमा चयन गरेको हो । समितिको कार्यकाल सन् २०२९ को मार्चमा समाप्त हुनेछ ।

आईपीयूको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै यसलाई स्वतन्त्र समितिको रूपमा पुनर्गठन गर्ने निर्णय गरिएको थियो ।

सोही निर्णय अनुसार गठन गरिएको उक्त समितिमा नेपालको प्रतिनिधित्व गर्दै सांसद गौतम निर्वाचित भएकी हुन् । 

समितिमा सांसद गौतमसँगै अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी मुएको मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्तानकी सिनेट सदस्य ओ अतानियाजोवा, र जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।  

Share News