काठमाडौंमा वर्षाले दियो प्रदूषणबाट राहत, अझै केही दिन वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो हल्का वर्षा भएको छ । लामो समयपछि परेको यस वर्षाले वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि देशभरको मौसममा बदली आएको हो ।

मंगलबारदेखि सक्रिय भएको उक्त प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौं उपत्यकामा बुधबार मात्र वर्षा भएको हो । मौसम विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।

तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको जनाइएको छ । वर्षाले उपत्यकाको वायु प्रदूषणमा सुधार हुने र जनताले केही राहत महसुस गर्ने अवस्था सिर्जना भएको मौसमविद्हरूले बताएका छन् ।

काठमाडौं उपत्यकासँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार आज, भोलि र पर्सि पनि वर्षाको सम्भावना रहेको छ । त्यसैले केही दिन मौसम बदलिने सम्भावना रहेको उनको भनाइ छ ।

यसबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले वातावरणमा रहेको धुँवा, धुलोलाई हटाउँदै स्वच्छता कायम गर्न मद्दत गरेको छ ।

काठमाडौं उपत्यकाबाहिरका केही स्थानमा पनि वर्षा भएकोले वायुमण्डलीय प्रदूषण हट्न सहयोग पुगेको बताइएको छ ।

Share News