काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशकाे आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको हो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरको आधारमा हेर्दा अघिल्लो वर्ष १ अर्ब २६ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड डलरले बचतमा रहेको देखिएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ट्रान्सफर ३ अर्ब ८९ करोड रुपैयाँ मात्र थियो ।
त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा इक्विटी स्वरूपको प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोड रुपैयाँ थियो ।
यद्यपि, शोधनान्तरमा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति ३२७ अर्ब ५५ करोड रुपैयाँले बचतमा थियो । जुन यस वर्ष ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ ।
अमेरिकी डलरमा समेत अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष २ अर्ब २९ करोड डलरले बचतमा झरेको छ ।