काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रभन्दा जेठो संस्था नेपाल चेम्बर अफ कमर्शले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभा एवम चेम्बर दिवस समुद्घाट्न कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
'चेम्बर आफै लगानीकर्ता हो, आफै निजी हो अनि आफै उद्यमी हो । देशभित्र देशबाहिरबाट यसले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ । यसका लागि चेम्बरलाई धन्यवाद छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले चेम्बरको खुलेरै प्रशंसा गरे ।
'चेम्बरले हालसम्म यो पुगेन त्यो पुगेन भनेको छैन । चेम्बरले सहीलाई सही गलतलाई गलत नै भन्ने गरेको छ । मलाई खुसी लागेको छ । चेम्बरसम्बन्धी नीति तथा कार्यक्रम सरकारले तपाईंले भने अनुसार नै ल्याउने छ । यसमा ढुक्क हुनुहोस्,’ उनले भने ।
चेम्बरले अन्तर्राष्ट्रियसतरमा आफ्नो स्थायित्वलाई विश्वका ७० देशमा विस्तार गरेकोमा समेत उनले धन्यवाद व्यक्त गरे । उनले बाहिर लगानीभन्दा स्वदेशमै लगानी गर्नुपर्नेमा जोड दिए ।
यसैगरी, प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हामी आफैले गर्नुपर्नेमा जोड दिए ।
'सरकार तपाईंहरूसँग छ यसमा कुनै समस्या छैन । सरकार कमिसन खानका लागि हैन, देशको लागि हौं । सरकार दुखी गरिबका साथमा छ, शिक्षक उद्यमीलगायत सबैका लागि छ,’उनले भने ।