काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि पियोर इनर्जी कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । यसअघि कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।
पियोर इनर्जीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरूले सेयर बजारको अनलाइन प्रणाली 'मेरोसेयर' मार्फत वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।
पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जसमध्ये ८० प्रतिशत पुँजी संस्थापकहरूको स्वामित्वमा रहेको छ भने बाँकी २० प्रतिशत सेयर सर्वसाधारण समूहलाई निष्कासन गरिँदैछ ।