काठमाडौं । बाराको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासनका लागि होटल ईच्छाले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा होटलका सीईओ रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले हस्ताक्षर गरे ।
सम्झौतापत्रमा संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर तथा हिमालयन क्यापिटलका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराई समेत उपस्थित थिए ।
२०० करोड अधिकृत पुँजी र १५० करोड जारी पुँजी रहेको होटल ईच्छाले जारी पुँजीको २० प्रतिशत, अर्थात् ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।
२०७४ सालमा बाबा रामदेवबाट उद्घाटन गरिएको होटल ईच्छा २०७९ सालमा मधेश प्रदेशकै पहिलो पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको हो । आर्थिक वर्ष २०८०/८१ को श्रावण १ गतेदेखि यो होटल पब्लिक कम्पनीको रूपमा सञ्चालनमा आएको छ ।
व्यक्तिगत लगानीबाट सुरु गरिएको होटलले अहिले विभिन्न व्यवसायीक घरानाका व्यक्तिहरूलाई प्रवर्द्धकका रूपमा समेट्दै १२० करोड रुपैयाँ चुक्ता पुँजी बनाइसकेको छ ।
५ विगाहाभन्दा बढी क्षेत्रमा फैलिएको होटलमा सुविधा सम्पन्न १०० कोठा, स्वीमिङ पुल, स्पा, क्यासिनो, क्लब हाउस, ब्याङ्क्वेट हललगायत सेवा-सुविधा उपलब्ध छन् ।
यस आर्थिक वर्षमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा अनुमति लिई, आगामी वर्षभित्र सर्वसाधारणमा सेयर निष्कासन गर्ने योजना रहेको प्रमुख प्रवर्द्धक वाग्लेले जानकारी दिए ।
हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय बनाउन नयाँ भवन निर्माण कार्य अघि बढाइएको छ । पाँचतारे क्यासिनो सेवा छुट्टै भवनबाट सञ्चालन गरिनेछ ।
भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गर्दै होटलको सञ्चालन जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । सोही अनुसार होटलको स्तरीकरण र रिनोभेसन कार्य तीव्र रूपमा भइरहेको छ ।
भारतको बिहार प्रदेशबाट डेस्टिनेशन म्यारिजका लागि परिचित यो होटलमा वार्षिक ३०–४० विवाह कार्यक्रमहरू सञ्चालन हुन्छन् । साथसाथै, क्यासिनो सेवा लिन आउने भारतीय पर्यटकहरूको हब पनि बन्दै गएको छ ।
सडक र हवाई मार्गबाट भारतसँगको दूरी नजिक भएकाले होटल भविष्यमा भारत–नेपाल ट्रान्जिटको मुख्य केन्द्र बन्ने सम्भावना रहेको र त्यसैले पाँचतारेमा स्तरोन्नती गरिएको वाग्लेले बताएका छन् ।