८ महिनामा नाफामा ४ अर्ब क्लबमा प्रवेश गरे तीन बैंक, नेपाल बैंकको आकर्षक कमब्याक

काठमाडौं । ८ महिनामा वाणिज्य बैंकहरूले साढे ४३ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको फागुनसम्ममा बैंकहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका थिए । 

यसअवधिमा बैंकहरूको खुद नाफा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । कर्जा नोक्सानीमा राष्ट्र बैंकले लिएको लचिलो नीतिले गर्दा बैंकहरूको नाफामा सामान्य वृद्धि भएको हो । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमा झारेको छ । त्यसअघि कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशत थियो । 

८ महिनाको अवधिमा ११ बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ । फागुनसम्ममा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक बनेको छ । नेपाल बैंकको नाफा १३२.८९ प्रतिशत बढेर २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको फागुनमा बैंकको नाफा १ अर्ब २८ करोड २९ लाख रुपैयाँ मात्रै थियो । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) बैंकको नाफा ४५.६८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो । 

राष्ट्र बैंकका अनुसार एनएमबि बैंकको ४१.१० प्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ, प्रभु बैंकको ३९.६४ प्रतिशत बढेर २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३७.७६ प्रतिशत बढेर ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३१.१९ प्रतिशत बढेर ३ अर्ब ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

यस्तै, नेपाल एसबिआई बैंकको २३.९१ प्रतिशत बढेर १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ९.४४ प्रतिशत बढेर १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.०९ प्रतिशत बढेर २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, नबिल बैंकको १.३४ प्रतिशत बढेर ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ र सानिमा बैंकको १.१० प्रतिशत बढेर १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा विभिन्न ९ बैंकको नाफा सामान्य घटेको देखिन्छ । फागुनसम्मको तथ्याङ्क अनुसार एनआईसी एशिया बैंकको नाफामा व्यापक गिरावट आएको छ । बैंकको नाफा ६७.७४ प्रतिशत घटेर ८१ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । जबकि गत वर्षको फागुनमा बैंकको नाफा २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ६२.६६ प्रतिशत घटेर ७३ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४०.०९ प्रतिशत घटेर १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको ३१.९७ प्रतिशत घटेर ९६ करोड ९१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २८.२६ प्रतिशत घटेर १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् । 

यस्तै, हिमालयन बैंकको १४.२९ प्रतिशत घटेर १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ, प्राइम बैंकको १३.३२ प्रतिशत घटेर २ अर्ब ५० करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ५.२९ प्रतिशत घटेर १ अर्ब १६ करोड १६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ०.२२ प्रतिशत घटेर १ अर्ब १६ करोड २२ लाख रुपैयाँमा नाफा झरेको छ ।

८ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ भने ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । एनआईएमबि बैंक तेस्रो स्थानमा रहँदा एभरेष्ट बैंकले पच्छ्याइरहेको छ । साथै सरकारी लगानी रहेको नेपाल बैंक पाँचौं स्थानमा उक्लिएको छ । तर, कृषि विकास, एनआईसी एशिया र कुमारी बैंकको नाफा करोड क्बलमा सीमित हुन पुगेको छ । null
 

Share News