पूर्वराजा लक्षित गगनको प्रश्न : निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले शाहलाई जति धोएर सफा गरे पनि संवैधानिक राजा बन्न अयोग्य रहेको बताए । उनका अनुसार नेपाली कांग्रेसले लामो संघर्ष र अनुभवका आधारमा अब संवैधानिक राजाको परिकल्पना असम्भव भएको निष्कर्षमा पुगेको हो ।

महामन्त्री थापाले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै भने, 'निर्मल निवासमै बसेर यस्तो उत्पात भयो, नारायणहिटीमा भएको भए के गर्थे होला ?'

उजले पूर्वराजाले व्यवसायी दुर्गा प्रसाईँ र पूर्वपञ्च नवराज सुवेदीलाई बोलाएर ‘उत्पात मच्चाएको’ आरोप पनि लगाए । उनले भने, 'दुर्गा प्रसाईँलाई कहाँबाट खोजेर ल्याइयो, नवराज सुवेदी जसले केही समयअघि मात्रै किताब लेखेर राजालाई गाली गरेका थिए, उनीहरूलाई पनि बोलाएर अहिले राजतन्त्रको नाममा उत्पात मच्चाइएको छ ।'

महामन्त्री थापाले जनताले छानेका प्रतिनिधिहरूले नै देश चलाउने कुरामा जोड दिए । उनले जननिर्वाचित प्रतिनिधि नै देश चलाउन सक्षम रहेको दाबी गरे ।

फरक प्रसङ्गमा बोल्दै उनले पार्टीको महाधिवेशन २०८३ सालको मंसिरभित्र सम्पन्न हुने प्रष्ट पारे । साथै, यस विषयमा कोही पनि अलमलमा नपर्न आग्रह गरे ।

उनका अनुसार, हालको पार्टी संरचनामा नेता बलियो तर कार्यकर्ता कमजोर जस्ता समस्या देखिएको छ, जसले असन्तुष्टि जन्माएको छ । त्यसैले संगठन निर्माणमा सबै कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले राजनीतिक संयन्त्रको सुझाव सरकारले बेवास्ता गरेको आरोप पनि लगाए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए ।

उनले थपे, 'सरकारले गर्ने काम सरकारले नै गर्नुपर्छ, संयन्त्रले होइन । यदि सबै काम संयन्त्रले गर्नुपर्छ भन्ने सोच आयो भने त्यो लोकतान्त्रिक शासन प्रणाली हुँदैन । प्रधानमन्त्रीको काम प्रधानमन्त्रीले, मन्त्रीको काम मन्त्रीले गर्नुपर्छ ।'

महामन्त्री थापाले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले अपेक्षित उपलब्धि दिन नसकेको कारण आफू सधैं प्रश्न गरिरहने बताए ।

Share News