काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै त्यस दिशामा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने दृढ संकल्प देखिएकोमा खुसी व्यक्त गरे । उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वाससाथ अघि बढेकाले सरकार पनि सघाउन तयार रहेको स्पष्ट पारे ।
उनले भने, 'सरकार र निजी क्षेत्रबीचको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश आफैँ बनाउनु पर्छ। तीव्र गतिमा विकास गर्नुपर्छ । स्वदेशी वस्तुको प्रयोगमा गर्व गर्न सिक्नुपर्छ ।'
प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सरकारलाई प्रेरित गर्न आग्रह गर्दै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । 'यो सरकार स्थायित्व, सुशासन र विकासका लागि आएको हो । अहिले गतिशील स्थायित्व कायम छ, सरकारको विश्वसनीयता छ,' उनले भने, 'सरकारका नीतिहरु छिनछिनमा परिवर्तन भई नकारात्मक असर पर्ने परिपाटीको अन्त्य गर्नकै लागि यो सरकार बनेको हो ।'
प्रधानमन्त्रीले अहिलेको सरकारले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्रियाशील रहेको जनाए । साथै, निजी क्षेत्रबाट प्राप्त सुझावका आधारमा नीति तथा कानुन निर्माण भइरहेको पनि उनले स्पष्ट पारे ।
उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनीहरू र महासङ्घका उत्कृष्ट प्रदेश तथा जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो ।