वैदेशिक सहायता घट्दै गयो र अझै घट्ने सम्भावना छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू संकुचित हुँदै गएको बताएकी छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको बताइन् ।   

मन्त्री राणाले भनिन्, 'वैदेशिक सहायताको स्थीति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’   

उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्याएकोमा उनले सराहना गरिन् । 

मन्त्री राणाले सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् ।  

अधिकतम विकास,विकासील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको उनले बताइन् ।  

उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध  रहेको समेत दावी गरिन् ।  

सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् ।  

Share News