घरजग्गामा बैंकहरूको ब्याजदर हालसम्मकै न्यून, १० प्रतिशत बढ्यो ऋण

काठमाडौं । ब्याजदर घटेसँगै बैंकहरूले घरजग्गामा लगानी बढाएका छन् । बैंकहरूको ब्याजदर एकल अंकमा पनि न्यून अंकमा झरेसँगै वाणिज्य बैंकहरूले घरजग्गामा झण्डै साढे २ खर्ब रुपैयाँ बराबर लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका हुन् । 

जबकि गत वर्षको फागुनसम्ममा बैंकहरूले २ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले १०.०८ प्रतिशत अर्थात् २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ घरजग्गामा कर्जा बढाएका हुन् । साथै फागुनमा बैंकहरूको घरजग्गामा प्रवाह हुने कर्जाको औसत ब्याजदर ८.७२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त ब्याजदर २०७० असार यताकै न्यून हो ।

समीक्षा अवधिमा कुमारी बैंकले घरजग्गा क्षेत्रमा आक्रामक रूपमा कर्जा लगानी बढाएको छ । फागुनसम्म कुमारीले १४१२.१७ प्रतिशत अर्थात् ८ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बढाएर ८ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको हो । गत वर्षको फागुनमा बैंकले ५७ करोड ४६ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । 

यस्तै, लक्ष्मी सनराइज बैंकले ४५.५७ प्रतिशत बढाएर १५ अर्ब १० करोड रुपैयाँ, प्राइम बैंकले २८.१० प्रतिशत बढाएर २१ अर्ब ६९ करोड रुपैयाँ, एभरेष्ट बैंकले २६.६३ प्रतिशत बढाएर ७ अर्ब ९४ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले  २६.१२ प्रतिशत बढाएर १८ अर्ब ४७ करोड रुपैयाँ, एनएमबि बैंकले २३.९१ प्रतिशत बढाएर ५ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन्स बैंकले १६.२३ प्रतिशत बढाएर ५ अर्ब ४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १६.१३ प्रतिशत बढाएर १ अर्ब ८५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । 

राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले १५.८८ प्रतिशत बढाएर १ अर्ब ९१ करोड रुपैयाँ, प्रभु बैंकले ७.९३ प्रतिशत बढाएर १४ अर्ब २९ करोड रुपैयाँ, नबिल बैंकले ५.५६ प्रतिशत बढाएर २३ अर्ब ९३ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.५६ प्रतिशत बढाएर ८ अर्ब ३० करोड रुपैयाँ, सानिमा बैंकले २.१२ प्रतिशत बढाएर ६ अर्ब १ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १.३२ प्रतिशत बढाएर ९ अर्ब ८६ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । 

समीक्षा अवधिमा आधा दर्जन बैंकले भने घरजग्गामा लगानी घटाएका छन् । यसअवधिमा एनआईसी एशिया बैंकले ११.६० प्रतिशत घटाएर २६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्षको फागुनमा बैंकले २९ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको थियो । 

यस्तै, हिमालयन बैंकले १०.३४ प्रतिशत घटाएर १२ अर्ब ६२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १०.३० प्रतिशत घटाएर ४ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ४.१२ प्रतिशत घटाएर ४ अर्ब ७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकले ३.४९ प्रतिशत घटाएर २४ अर्ब ७३ करोड रुपैयाँ र नेपाल बैंकले २.२५ प्रतिशत घटाएर १४ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । null

Share News