काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे सबैले समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कमिटीद्वारा आज काठमाडौंमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठीमा उनले संविधान कार्यान्वयनका उपलब्धि र चुनौतीका विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता सिटौलाले संविधान निर्माण भएको ८ वर्ष नाघिसकेको बताउँदै हालसम्म संविधानका उपलब्धि, कार्यान्वयनका अवस्था, चुनौतीलगायत विषयमा समीक्षा गर्नुपर्ने उल्लेख गरे । संविधान कार्यान्वयनको समीक्षा गर्दै राष्ट्र, जनताको हितमा काम गर्नुपर्नेमा उनको जोड छ ।
गरिबी हटाउन, देशमा समृद्धि ल्याउन केही त्रुटि भएमा त्यसलाई सच्याउन आफूहरू तयार रहेको उनले जिकिर गरे ।
उनले भने, ‘संविधान कार्यान्वयनको समीक्षा गरौँ । संविधान निर्माण भएको ८ वर्ष भइसक्यो । संविधानको समीक्षा गरेर राष्ट्र, जनताको हितमा काम गरौँ ।’
उनले मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गरे ।
‘विसं २००७ तथा २०४६ सालको नेतृत्व र २०६२/६३ को जनआन्दोलनको नेतृत्व हामीले गर्यौं । संविधान निर्माणको नेतृत्व पनि हामीले गरेका हौँ,’ उनले भने ।
नेता सिटौलाले ८ दशक लामो सङ्घर्षबाट प्राप्त परिणामलाई बचाउने र त्यसको माध्यमबाट देशको विकास गर्ने कार्यभार युवापुस्ता काँधमा रहेको उल्लेख गरे ।
यस्तै, गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नै नभएको बताए । उनले लोकतन्त्र उत्तम व्यवस्था भएकाले यसलाई सबै मिलेर प्रमाणित गर्नुपर्ने आवश्यकता औंल्याए ।