काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सिन्धुलीगढिमा भएको युद्धमा अंग्रेज फौजलाई पराजित गर्न सिकारी सरदार वंशु (वंश) गुरुङको नेपालको इतिहासमा उल्लेखनीय योगदान रहेको बताएका छन् ।
हुलाक सेवा विभागले फिलाटेलिक कार्यक्रम २०२४/२५ अन्तर्गत प्रकाशित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्ने कार्यक्रममा आज मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङको नेपालको सार्वभौमसत्ताको संरक्षणमा महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।
नेपालको इतिहासमा सिकारी सरदारको योगदानका कारण आज नेपाललाई स्वतन्त्र भएर रहन पाएको र उनको हुलाक टिकटमा टाँचा लगाउन पाउँदा खुसी लागको मन्त्री गुरुङले बताए ।
इतिहासमा सिकारी सरदारको योगदान सदा हुलाक टिकटमा रहने उनले बताए । सिकारी सरदार वंशु (वंश) गुरुङको १० रुपैयाँको हुलाक टिकट प्रकाशन गरिएको छ । मन्त्री गुरुङले नेपालका ‘इन्डेमिक’ बनस्पतीहरुमा पनि टाँचा लगाए । ती सबै १० रुपैयाँका हुलाक टिकट रहेका छन् ।
सिकारी सरदार वंशु (वंश) गुरुङ सिन्धुलीगढिमा भएको युद्धमा अंग्रेज फौजलाई पराजित गर्ने मध्येका नाइके थिए। उनको जन्म लमजुङको कोने नासा गाउँमा भएको हो । पछि उनी बसाइँ सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ढोर जस्पुर पुगेका थिए ।
उनी धनुष वाण खेलाउन निपुण थिए। त्यसैले पनि उनलाई तत्कालीन राजा पृथ्वी नारायण शाहले आफ्नो टोलीमा समावेश गर्दै अंग्रेज फौजसित लड्न सिन्धुलीगढी खटाएको इतिहासमा उल्लेख छ ।