दुर्गा प्रसाईं पक्राउको विषयमा प्रहरीले किन बोल्यो झुट ?

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको भन्ने खबर बिहीबार साँझ सञ्चारमाध्यममार्फत सार्वजनिक भयो । विभिन्न सञ्चारमाध्यमले प्रसाईं पक्राउ परेको भन्दै खबर सार्वजनिक गरेपछि नेपाल प्रहरीले त्यसको खण्डन गर्दै उनी पक्राउ नभएको जानकारी गरायो ।

प्रहरीले विज्ञप्ति नै जारी गरेर भन्यो, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरु प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विभिन्न आपराधिक घटनामा संलग्न फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्रा नपरोके हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनहुन सबैमा अनुरोध गर्दछौं ।’

सञ्चारमाध्यममा प्रसाईं पक्राउ भएको समाचार सार्वजनिक भएपछि उनी पक्राउ भए भनेर विश्वास गरेका सर्वसाधारणले पछि प्रहरीको उक्त विज्ञप्तिपछि भने उनी पक्राउ नभएको भन्दै विश्वस्त भए । तर, दुगाई प्रसाईं भने प्रहरीको फन्दामा परिसकेका थिए । तर, प्रहरीले भने उनी पक्राउ नै नपरेको झुट सार्वजनिक गर्यो ।

यो विषयमा अहिले प्रहरीले किन झुट बोलेको भन्ने चासो अधिकांशको छ । हामीले नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यलाई प्रसाईं पक्राउ भएपछि पनि प्रहरीले किन झुट बोल्ने भन्ने प्रश्न हामीले गर्याैं । उनले जवाफमा भने, ‘दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको होइन, हामीले नेपालको सीमाभित्र भएको घटनाक्रमलाई मात्रै औपचारिक रूपमा भन्न सक्छौं, सञ्चारमाध्यममा उनी भारतको आसामबाट पक्राउ भएको भन्ने समाचार आइरहेको थियो, त्यस विषयमा हामीलाई जानकारी हुँदैन,’ उनले भने ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारतका विभिन्न ठाउँ पुगेको थियो । अन्ततः उनले सार्वजनिक भिडियोको आधारमा प्रहरीले उनलाई आसाममा भेटेर पक्राउ गरेको हो । 

भारतको आसाम राज्यबाट पक्राउ भएका प्रसाईंलाई आज नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो । नेपाल प्रहरीले अहिले उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याउँदैछ । 

राजसंस्था पुनःस्थापनाका लागि भन्दै प्रसाईंले चैत १५ गते तीनकुनेमा हिसांत्मक आन्दोलन गरेका थिए । सो आन्दोलनका कमाण्डर पनि उनै थिए । सो हिंसात्मक प्रदर्शनबाट दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए । 

आन्दोलनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेको थियो । घटनाले उग्र रूप लिएपछि प्रसाईं घटनास्थलबाटै फरार भएका थिए । 

उनी भक्तपुर-धुलिखेल-सिन्धुली हुँदै झापा पुगेका थिए । उनले झापाबाट आफू चढेको गाडी फिर्ता पठाएर त्यहाँबाट भारत फरार भएको प्रहरीको अनुसन्धानले खुलेको छ । नेपालबाट भारत फरार भएपछि उनले सामाजिक सञ्जालबाट भिडियो पनि सार्वजनिक गरेका थिए । उनको सोही भिडियोहरूले गर्दा नै प्रहरी उनीकहाँ पुग्न सफल भयो । 

प्रसाईंलाई संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । 

Share News