नेपाली श्रम बजारमै विदेशीहरूलाई आकर्षित गर्ने लक्ष्यमा छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा नेपाली श्रम बजारमै विदेशीहरूलाई रोजगारीका लागि आकर्षित गर्ने परिस्थिति निर्माण गर्ने सरकारको दूरदृष्टियुक्त योजना रहेको बताएका छन् ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने र नागरिकहरूलाई खुशीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले भने, 'आज नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेका छन्, तर अब यस्तो परिस्थिति बनाउनेछौँ, जहाँ विदेशीहरू नेपाली श्रम बजारमै रोजगारीका लागि आउनेछन् । यो हाम्रो मूल उद्देश्य हो ।'

अर्थमन्त्री पौडेलले विदेशबाट फर्किएका नेपालीहरू सीप, अनुशासन र पुँजीसहित स्वदेश फर्किएको उल्लेख गर्दै ती सीपहरूलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण तयार पार्नुपर्ने बताए ।

'बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्रीले म यो गर्छु, त्यो गर्छु भनेर बोल्नु उचित हुँदैन,' भन्दै पौडेलले श्रममन्त्री तथा सरोकारवालाहरूले उठाएका कुराहरूको सरकारले पूर्ण सम्मान गर्ने र वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउने दिशामा सरकार संवेदनशील र सक्रिय रहेको धारणा राखे ।

अन्त्यमा उपप्रधानमन्त्री पौडेलले अहिलेको परिस्थितिमा नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा सम्मानपूर्वक उपस्थित हुन सक्ने, आर्थिक उपार्जन गर्न सक्ने र सुरक्षित रूपमा स्वदेश फर्कन सक्ने प्रणाली बनाउनु अत्यावश्यक रहेकोमा जोड दिए ।

Share News