काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
शुक्रबार रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट आएको हो ।
यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर बुटवल इजलासले सो आदेश उल्ट्याउँदै थुनामा पठाउन निर्देशन दिएको थियो ।
रास्वपाले उक्त आदेशसँग असहमति जनाउँदै सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो । अब सर्वोच्चले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिने वा नगर्ने निर्णय गर्नेछ ।