काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्त्वपूर्ण प्रस्ताव अघि सारेको छ । आयोगले २ लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वा नेपाली बैंकमा निक्षेप राख्ने विदेशी लगानीकर्तालाई निश्चित सर्तसहित नेपालमा घर वा फ्ल्याट खरिद गर्न दिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।
आवास प्रयोजनका लागि यस्तो व्यवस्था गरिए विदेशी लगानीकर्तालाई नेपालमै बसोबास गर्न सहज हुने र लगानीको वातावरण थप आकर्षक बन्ने आयोगको तर्क छ ।
साथै, घरजग्गाको व्यावसायिक कारोबारलाई व्यवस्थित गर्न दर्तावाला एजेन्सीमार्फत मात्र कारोबार गर्न दिने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि आयोगले दिएको छ । यसले रियल इस्टेट क्षेत्रमा पारदर्शिता र कानुनी स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।