काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालद्वारा आयोजित १७औँ वार्षिक साधारण सभामा बोल्दै उनले जन नेता बीपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने उनको भनाइ छ ।
‘सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा सेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ,’ उनले भने ।
उनले देशको स्वास्थ्य क्षेत्रको विकासमा बीपी स्मृति अस्पतालले गरेका कामको सराहना गरे ।
पार्टीका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा विलम्ब गर्न नहुने बताए ।
‘संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ,’ उनले भने ।
एमालेसँगको सत्ता साझेदारीले पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताए ।
अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्षहरू डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका सेयर होल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताए ।