काठमाडौं । अमेरिकी अर्थतन्त्रका धेरै भाग र साना व्यवसायीका लागि १४५ प्रतिशत ट्यारिफका कारण चीनबाट हुने आयातमा चाँडै अपूरणीय क्षति पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आपूर्ति श्रृङ्खलाका कार्यकारीहरूका अनुसार अमेरिकी उद्योगहरूमा व्यापक रूपमा कन्टेनर निर्यात रोकिएको छ र ट्यारिफहरूले निकै ठूलो असर पुर्याइरहेका छन् ।
'चीनका फर्निचर उत्पादकहरूले अमेरिकी आयातकर्ताबाट पूर्ण रूपमा अर्डरहरू बन्द भएको देखेका छन् र हामीले खेलौना, लुगा, जुत्ता, खेलकुद सामग्रीजस्ता क्षेत्रमा पनि त्यही सुन्दैछौं,’ सी-इन्टेलिजेन्स सर्भिसेजका सीईओ एलन मर्फीले भने ।
'हामीले दक्षिण-पूर्व एसियामा पनि उस्तै स्थिति देख्यौं, तर ९० दिनको राहतपछि अर्डरहरू फेरि सुरु भए,’ सेको लजिस्टिक्सका प्रमुख व्यवसाय अधिकृत ब्रायन बोर्केले भने, 'जबकि चीनबाट आउने कन्टेनरहरूको अर्डर अझै पनि रद्द भइरहेका छन् ।’
'चीनसँग सम्बन्धित व्यापारहरू लगभग सबै रोकिएको अवस्थामा छन्,’ ओएल यूएसएका सिइओ एलन बेयरले भने ।
'ट्रम्पको १४५ प्रतिशत टोटल ट्यारिफले अमेरिका र चीनबीचको अधिकांश व्यापार रोक्नेछ, 'कर फाउन्डेसनको फेडरल ट्याक्स पोलिसी केन्द्रकी उपाध्यक्ष र अर्थशास्त्री एरिका योर्कले भनिन् ।
'कुनैकुनै सामानहरूमात्र विकल्प नभएका कारण आयात गर्नैपर्ने हुन्छ, तर अधिकांश वस्तुमा ट्यारिफले पूरै व्यापार नै काटिदिन्छ,’ उनले थपिन् ।
गत हप्ताको घटनाक्रमले ट्रम्प प्रशासनको ट्यारिफ नीतिअन्तर्गत चीनलाई नै मुख्य लक्षित बनाइएको छ ।
शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको ट्यारिफ (कर) केही हदसम्म फिर्ता गरेपछि एप्पलको आइफोनदेखि चिप्स र पर्सनल कम्प्युटरसम्मका अन्य प्रविधिसम्बन्धी हार्डवेयरहरूलाई राहत प्राप्त भए पनि ट्यारिफले सबैभन्दा धेरै घाटा अमेरिकालाई नै पर्छ ।
'उच्च नाफा हुने र प्रविधियुक्त वस्तुहरू– जस्तै इलेक्ट्रोनिक्स, मेसिनरी, मेडिकल उपकरणहरू र औषधीहरूको स्रोत सजिलै अन्यत्र सार्न सकिँदैन किनभने यस्तो उत्पादन संरचना तयार गर्न समय र धेरै पूँजी चाहिन्छ,’ मर्फीले भने ।
प्रविधिमा ट्यारिफ छुट नआउँदासम्म यस्ता वस्तुका उत्पादकहरूले कुन-कुन कम्पोनन्ट अन्यत्रबाट ल्याउन सकिन्छ भनेर विश्लेषण गरिरहेका थिए । हाल साउथ ईस्ट एसिया (मुख्यतया भियतनाम वा भारत) तर्फ उत्पादन सार्ने प्रयास भइरहेको छ । उत्पादन जारी राख्न मूल्य घटाएर युरोपतर्फ निर्यात गर्ने वा उत्पादन लाइनहरू पूर्ण रूपमा बन्द गर्ने पनि विचार गरिँदैछ ।
'साना व्यवसायहरूले सहन नसक्ने जोखिम'
अमेरिकन एपरल एन्ड फुटवेयर एशोसिएसनका सीईओ स्टेफन लामारले भने, 'अचानक नीति परिवर्तन र उच्च ट्यारिफहरूले महामारीपछिको समयमा कहिल्यै नभएको आपूर्ति श्रृङ्खलामा अवरोध ल्याएको छ ।’
'चीनबाट आयातमा अत्यन्त उच्च ट्यारिफ लागेपछि धेरै कम्पनीहरूले अर्डरहरू रद्द गर्नुपर्ने बाध्यता आइपरेको छ,’ उनले भने, 'ट्यारिफको बारम्बार फेरबदलले सामान आइपुग्दासम्म वास्तविक लागत थाहा हुँदैन र यी अत्यधिक शुल्कहरू तिर्नै नसकिने स्थितिमा पुगिएको छ । साना व्यवसायहरूका लागि यो दीर्घकालीन रूपमा सहन सकिने अवस्था होइन ।’
'वैकल्पिक स्रोत नभएको अवस्थामा अर्डर हराउने बित्तिकै बिक्री हराउनेछ र बजारमा सामानको अभाव हुनेछ । त्यसैले अब तुरुन्तै व्यापार युद्धलाई रोक्ने कदम आवश्यक छ नभए क्षति अपूरणीय हुन्छ,’ उनले थपे ।
कन्टेनर सेवा पुनः संरचना
मस्र्कले चेतावनी दिएको छ कि चीनसँग सम्बन्धित जहाज निर्माण शुल्क र अर्डर गिरावटका कारण उत्तर अमेरिका जाने कन्टेनर सेवा प्रणालीमा 'विशाल पुनः संरचना’ आवश्यक हुनेछ ।
'आगामी महिनाहरूमा भारी यातायात जाम र ढुवानी शुल्कमा वृद्धिको सामना गर्नुपर्नेछ,’ मर्स्क आफ्नो ग्राहकहरूलाई लेखेको सन्देशमा भनिएको छ, 'हामीले कुराकानी गरेका कुनै पनि चिनियाँ उत्पादकहरूले अहिलेको अवस्थामा अमेरिका भित्रै उत्पादन सुरु गर्ने तयारी गरेका छैनन् । यसको मुख्य कारण हो- ट्रम्प प्रशासनको अन्तिम लक्ष्य के हो भन्ने स्पष्ट छैन ।’
'यदि ट्यारिफहरू केवल व्यापार सम्झौताको बार्गेनिङका लागि हो भने कसैले अमेरिका भित्र करोडौं लगानी गर्दैन । यदि वास्तवमै अमेरिका पुनः औद्योगिक बनाउने उद्देश्य हो भने त्यसको दीर्घकालीन योजना स्पष्ट हुनुपर्छ,’ उनले थपे ।
भन्सार शुल्क टार्ने उपाय
कम्पनीहरूले ट्यारिफको असर कम गर्न फ्रेट प्रोसेसिङलाई रोकिरहेका छन् । युएस भित्र 'बन्डेड स्टोरेज’ प्रयोग गरेर केही समयको लागि ट्यारिफ नतिरी सामान राख्न सकिन्छ । विदेशी व्यापार क्षेत्र लगायतका उपायहरूले शुल्क तिर्न केही समय पर्खन मिल्छ ।
त्यागिएको माल
समयमै भन्सार तिरिन नसकेको वा क्लेम नगरिएका मालहरू परित्यक्त मालमा पर्छन् । यस्ता मालको नियमन बन्दरगाह अनुसार फरक हुन्छ ।
न्यूयोर्क टर्मिनल कन्फरेन्स एग्रिमेन्ट अनुसार ३० दिनभन्दा बढी टर्मिनलमा रहन गएको माललाई परित्यक्त मानिन्छ र त्यसलाई ढिलाइ शुल्क ( जहाज, कन्टेनर वा कार्गो निर्धारित समयभन्दा बढी समयसम्म रोकिएको खण्डमा लाग्ने शुल्क) संकलन गर्न बेच्न सकिन्छ ।
'शिपर’ ले त्यस्तो माल 'फेरि निर्यात’ नष्ट वा दान गर्न सक्छ । यस्ता माललाई अमेरिकी भन्सारको लागि 'लेटर अफ अबान्डोनमेन्ट’ दिइन्छ । बिक्रीबाट प्राप्त रकमबाट खर्च कटाएर बाँकी रकम टर्मिनललाई जान्छ ।
विभिन्न कम्पनीहरूले यस्ता परित्यक्त माल किनेर छुट स्टोरहरू, अनलाइन विक्रेताहरू अमेजन र अन्य आउटलेटमा पुनः बेच्ने गर्छन् ।