काठमाडौं । गत बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले होटल याक एन्ड यतिमा आयोजना गरेको ५९ औं वार्षिक साधारणसभा तोकिएको समयभन्दा तीन घण्टा ढिलो सुरु भयो । निकै तामझामका साथ उद्घाटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसहित आधा दर्जन मन्त्रीहरू सभामा उतार्ने रणनीति बनाएको साभारणसभा महासंघले सोचे र खोजेजस्तो उत्साहपूर्ण हुन सकेन ।
बिहान १० बजेदेखि सुरु हुने भनिएको कार्यक्रम १ बज्नै लाग्दा पनि सुरु नभएपछि सहभागीहरु तितरबितर भए । सभामा बस्न बाध्यकारी भएकाहरू हाई काढ्न थाले । मन्त्रीहरू नेपाली झण्डासहितका चिल्ला गाडीहरू हुइँकाएर धमाधम समयमै कार्यक्रमस्थलमा जम्मा भए । हलभरि सहभागी थिए । ठाउँ नपाएर अधिकांश सभाहल बाहिर थिए । तर, पनि कार्यक्रम सुरु हुने छाँटकाँट थिएन ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोलाइएका थिए प्रधानमन्त्री केपी शर्मा ओली । कार्यक्रममा समयमै उपस्थित भएका मन्त्रीहरू र अन्य अतिथि तथा सहभागीलाई थमथम्याउन पटक-पटक प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ भन्ने आश्वासनको वाण उद्घोषकले गरिरहिन् । तर, ओली आइपुग्ने सुरसार थिएन ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र मुख्यसचिव एकनारायण अर्यालले आसन ग्रहण गरिसकेका थिए । त्यो समयमा केही मन्त्रीहरू कानेखुसीमा लागे । केही मोबाइलमा व्यस्त भए । केहीलाई कार्यक्रममा सभापति तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुरा गरेर समय कटाउने प्रयत्न गरिरहे ।
सबैको पर्खाइ प्रधानमन्त्री थिए । धैर्यधारण हुने बसिरहे । समयको बाध्यकारी भएकाहरू कार्यक्रम स्थलबाट बाहिरिए । कार्यक्रममा महासंघका सञ्चालक र सचिवालयका प्रतिनिधिहरूले सयौं पटक प्रधानमन्त्री कतिखेर आउनुहुन्छ भन्ने प्रश्नको सामना गरिरहे ।
अन्ततः दलबलका साथ एक बजे कार्यक्रम स्थलमा आइपुगे प्रधानमन्त्री ओली । कार्यक्रममा तीन घण्टा ढिलो गरि आइपुगेका ओलीमा कुनै आत्महीनता थिएन । ती सयौं सहभागीको तीन/तीन घण्टा व्यर्थैमा खर्च गरिदिएको महसुस उनमा देखिएन । परिणामस्वरूप उनले ‘कार्यक्रममा ढिलो आइपुगेकोमा क्षमाप्रार्थी छु’ भन्नेसम्मको वाक्य उफार्न आवश्यक ठानेनन् ।
गत बुधबार होटल सोल्टीमा पनि त्यस्तै प्रवृत्ति देखियो । निजी क्षेत्रको जेठो संस्था चेम्बर अफ कमर्सले ७४औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री ओलीलाई नै आमन्त्रण गरेको थियो । दिउँसो दुई बजेका लागि चेम्बरले कार्यक्रम समय निर्धारण गरेको थियो ।
त्यहाँ पनि उद्घोषकले प्रधानमन्त्री हिँड्नु भो, बाटोमा हुनुहुन्छ, आइपुग्दै हुनुहुन्छ भन्ने आश्वासन दिइरहिन् । उनले भनेको घण्टौं बितिसकेको थियो, प्रधानमन्त्री आइपुगेका थिएनन् ।
सहभागीहरूमा आलस्य बढ्दै थियो । धैर्यताको बाँध टुट्दै थियो । अधिकांश सहभागी बाहिरिसकेका थिए । हल आधा भइसकेको थियो । चेम्बरले कार्यक्रम ढिलो गरि सुरु हुने महसुस गरेपछि सहभागीलाई कार्यक्रम स्थलमै राख्ने रणनीति बनाएर त्यो समयमा खाजा खुवायो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएका उद्योगमन्त्री दामोदर भण्डारी बोल्दै थिए । त्यतिखेर नै टुप्लुक्कै सभास्थलमा आइपुगे प्रधानमन्त्री ओली । त्यतिबेलासम्म साँझको ५ बजिसकेको थियो ।
बोल्दै गरेका उद्योगमन्त्री रोकिए । उद्घोषिकाले उनलाई बीचमै रोकेर प्रधानमन्त्रीको स्वागतका लागि चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाललाई आग्रह गरिन् । कार्यक्रममा २ बजे आउनुपर्ने प्रधानमन्त्री ५ बजे आइपुगे । उसो त कार्यक्रमका विशिष्ट अतिथि उद्योगमन्त्री भण्डारी पनि ढिलै गरि कार्यक्रममा आइपुगेका थिए । उनलाई पनि प्रधानमन्त्री तीन घण्टा ढिलो आइपुग्छन् भन्ने ज्ञात भएको हुन सक्छ ।
प्रधानमन्त्री ओली जुन कार्यक्रममा जान्छन्, त्यो कार्यक्रम न्यूनतम दुई/तीन घण्टा ढिलो हुन्छ भन्ने माइन्डसेट आजभोलि अधिकांशले गर्ने गरेका छन् । गत माघ ४ गते स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले काठमाडौंको मेरियट होटलमा आयोजना गरेको रजत जयन्तीमा पनि उनै ओली प्रमुख अतिथि थिए । इप्पानले रजत जयन्ती भव्यताका साथ सम्पन्न गर्ने योजना बुनेको थियो । जुन उत्साह र ऊर्जा इप्पानका पदाधिकारीमा देखिन्थ्यो त्यो उर्जा कार्यक्रम उद्घाटन नहुँदै सकियो ।
सो रजत जयन्तीको प्रमुख अतिथि ओली र विशिष्ट अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थिए । कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने भनिएको थियो । सोही समयमा अन्य अतिथि र सहभागीहरू मेरियट होटलमा आइपुगे ।
सो कार्यक्रममा पनि अधिकांश सहभागी प्रधानमन्त्री नआएपछि घर फर्किए । विशिष्ट अतिथि खड्का कुर्सीमा पर्खिरहे । उद्घोषकले त्यहाँ पनि प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्ने आश्वासन दिइरहे । पदाधिकारीहरु प्रधानमन्त्रीको सचिवालयसँग तारन्तार सम्पर्क गरिरहे । ८ बजे सुरु हुने भनिएको कार्यक्रम दिउँसो १२ बजे सुरु भयो । त्यहाँ पनि प्रधानमन्त्रीले आफू चार घण्टा ढिलो भएको महसुस गरेनन् । हात हल्लाउँदै कार्यक्रमको मञ्च तर्फ लागे ।
इप्पानका अध्यक्ष गणेश कार्कीले आफूहरूसँग प्रधानमन्त्री ओलीको सचिवालयले कार्यालयकै कामका कारण कार्यक्रममा ढिला आएको जानकारी गराएको बताए ।
‘प्रधानमन्त्रीज्यूको सचिवालयले यो कुरालाई गहन रूपमा बुझ्न जरुरी छ । हामीहरूले कार्यक्रममा निश्चित समय मागेका हुन्छौं, होटलले पनि सोही किसिमले व्यवस्थापन गरेको हुन्छ, कार्यक्रमका लागि प्रधानमन्त्रीज्यूले यकिन समय छुट्याउनुपर्छ, रुटिन बनाउनु पर्छ,’ कार्कीले विकासन्युजसँग भने ।
तोकेको समयमा कार्यक्रम सुरु नहुँदा सबैलाई खल्लो महसुस हुने गरेको अनुभव उनको छ । कार्यक्रम तोकिएको समयभन्दा चार/पाँच घण्टा ढिलो हुँदा पाँच तारे होटलमा हुने कार्यक्रमको खर्चमात्रै नभई आयोजक संस्थाको ब्राण्डिङ र पदाधिकारीको प्रतिष्ठा र मनोबलमा पनि प्रभाव पर्ने गर्छ ।
कार्यक्रमको आयोजना गर्ने संस्थाका पदाधिकारीहरु यो विषयमा प्रधानमन्त्रीको सचिवालयको कमजोरी रहेको सुनाउँछन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल प्रधानमन्त्रीले कार्यक्रममा ढिलो गरेर आउनु उनको सचिवालयको कमजोरी रहेको धारणा राख्छन् ।
‘हामीले प्रधानमन्त्रीको सचिवालयसँग एक महिनाअघि नै समय मागेका हुन्छौं, सोही अनुसार सचिवालयले पनि सेड्युल मिलाउनुपर्छ, समय सबैको समान हो, एउटा कार्यक्रममा चार/पाँच घण्टा ढिलो आउने प्रवृत्तिको अन्त्य हुन जरुरी छ,’ उनले भने । उनका अनुसार यस्तो अभ्यासले आयोजक संस्थासँगै सहभागीहरूको मनोबल पनि कमजोर हुने गर्छ ।
ढिलो हुनु स्वाभाविक हो : प्रधानमन्त्रीको सचिवालय
विभिन्न महत्वपूर्ण कार्यक्रममा चार/पाँच घण्टा ढिलो गरि सहभागी हुने प्रधानमन्त्री ओलीको प्रवृत्तिप्रति उनको सचिवालय भने गर्व गर्छ । यो अभ्यास स्वाभाविक भएको उनको सचिवालयको तर्क छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीको धेरै काम हुन्छन्, कुनै-कुनै कार्यक्रममा ढिलो गरेर सहभागी हुनु स्वभाविक हो, सधैं र सबै कार्यक्रममा ढिलो हुँदैन ।’
कार्यक्रम आयोजकहरू पछिल्लो समय प्रधानमन्त्री ओलीको पखाईमा धेरै पर्खिनु परेको अनुभव सुनाउँछन् । कार्यक्रमका सहभागीसँगै अन्य महत्वपूर्ण अतिथिहरू ओलीको सुस्त गतिको मारमा परेको अनुभव सुनाउँछन् । राजधानी काठमाडौंमा हुने ठूल्ठूला कार्यक्रमको प्रमुख अतिथि नै प्रधानमन्त्री ओली हुने गरेका छन् ।
कार्यक्रमको ओजन बढाउनका लागि पनि आयोजकले उनलाई नै आमन्त्रण गर्ने गरेका छन् । तर, उनीसँगै आमन्त्रित अन्य विशिष्ट अतिथि तथा सहभागी भने ओलीको ढिलासुस्तीले दिक्दार बन्नुपर्ने अवस्था सिर्जना भइरहेको बताउँदै आएका छन् । देशको प्रधानमन्त्रीले नै समयको ख्याल नगर्दा अन्य मन्त्री तथा उच्च पदस्थहरूले समेत यो प्रवृत्तिको सिको गर्ने जोखिम पनि उत्तिकै बढेको छ ।