पर्यटकले भरिए नगरकोटका होटल, एकै रात २८ हजार पर्यटक बास बसे

काठमाडौं । आज सोमबार नेपालीहरूको नयाँ वर्ष २०८२ को सुरुवात  । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्न प्रमुख पर्यटकीय गन्तव्य नगरकोटका ६२ वटा होटल पर्यटकले भरिएका छन् । नयाँ वर्षको अवसरमा नगरकोट बेहुलीझैँ सिँगारिएको छ भने होटल र चोकहरूमा झिलिमिली छ । 

चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा २०८२ साल वैशाख १ गतेदेखि सुरु गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ लाई स्वागत गर्न आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । 

‘यहाँका पर्यटन व्यवसायीले होटलहरूदेखि चोक चोकमा झिलिमिली गरेर नगरकोटलाई बेहुलीझैँ सिङ्गारेका छन् । यहाँका होटल आन्तरिक र बाह्य पर्यटकले खचाखच छन् । यहाँका होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा लाइभ कन्सर्टहरूको आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिइरहेका छन्,’ उनले भने । 

नगरकोट आउन सडकको कुनै समस्या नभएको बताउँदै उनले भ्रमण वर्षले यहाँको पर्यटन मार्फत यहाँका सबै क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सफल हुने बताए । 

पर्यटनको विकासबाट यहाँको आर्थिक विकाससँगै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नगरकोट भ्रमण वर्ष आयोजना गरेको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । 

‘नगरकोट भ्रमण वर्ष-२०८२’ का क्रममा ग्रामीण क्षेत्रका होमस्टेमा पर्यटकको चाप बढेको उनले जानकारी दिए । बिहान नगरकोटबाट देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेहरूको भीडले नगरकोटमा एकै रात २८ हजार पर्यटक बास बसेको चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । 

लामाले भने, ‘नगरकोट भ्रमण वर्षको सुरुवातको पूर्वसन्ध्या र नयाँ वर्षको आगमनलाई कुरिरहेका पर्यटकले नगरकोट भरिएको छ । होटलका लागि आएका बूकिङ लिएको छैन । कतिपय पर्यटक बस्ने रुम नपाएर फर्किन बाध्य छन् । होटल नपाएर नजिका होमस्टे पर्यटकले भरिएका छन् ।’ 

नगरकोट आउने पर्यटकलाई १० देखि १५ प्रतिशत छुटको व्यवस्था गरेकाले अरु दिनमा आउन पनि सकिने उनको भनाइ छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन लामाले २०७२ सालको महाभूकम्प र लामो समयको कोभिड-१९ ले थला परेको पर्यटन व्यवसायलाई पर्यटन भ्रमण वर्षले पर्यटकको आगमन बढाउने देखिएको बताए । नगरकोटमा पर्यटकले भरिएको देख्दा व्यवसायी निकै उत्साहित भएको बताउँदै उनले एकैदिन एक लाख पर्यटकको आगमन हुने अनुमान गरिएको बताए । 

होटल व्यवसायी एवं होटल चौतारीका सञ्चालक बद्री माक भन्छन्, ‘नगरकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षणको केन्द्र बनेको नगरकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा बाह्य मात्रै नभई आन्तरिक पर्यटक खचाखच भएको छ । कोभिड–१९ पछि यसवर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देख्दा पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा व्यवसायीमा देखिन्छ ।’ 

स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको अर्का होटल व्यवसायी एवं होटल पिसफूलका सञ्चालक रामशङ्कर ध्वजु बताउँछन् । उनले चारवटा पालिका मिलेर भ्रमण वर्ष मनाउँदा पर्यटन व्यवसायमा थप उत्साह र लगानी थपिएको बताए । 

Share News