काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको आज शुभकामना दिँदै उनले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको भन्दै सफल पार्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरु हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगार मूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २० प्रतिशत रहेको उल्लेख गरे ।
‘गरिवीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौँ । गरिवीलाई हटाउने पहिलो सर्त शिक्षा हो । हाम्रा बालबालिकालाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौँ,’,उनले शुभकामना सन्देशमा भने ।
प्रधानमन्त्री ओलीले अहिले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्ने देखिएको बताए । विद्यार्थी टिकाउ दरमा सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।
प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सह अस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीका अनुसार शिक्षामा भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग गरी गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचारणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ ।
‘आफूसँग भएको विद्यालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता हो । ज्ञानलाई व्यवहारिक रुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ । हामी शिक्षित भएर मात्रै हुँदैन विनयशील पनि हुनुपर्दछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आजको शिक्षाले व्यक्ति स्वयंप्रति, परिवारप्रति, राष्ट्रप्रति र अन्तर्राष्ट्रिय समुदायप्रति दायित्व बोध गराउन सक्नुपर्ने भन्दै त्यसतर्फ हाम्रा प्रयासहरू केन्द्रित गराउनु आजको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले शुभकामनामा नेपालजस्तो उर्वर देशमा अझै पनि मानिस वा बालबालिका बेहाल अवस्थामा सडकमा रहनु शोभनिय कुरा नभएको बताए । उनले बालबालिकाहरु अभिभावक विहीन भएर बस्नुपर्ने अवस्थामा अन्त्यका लागि सरकारले अभियानात्मक कार्यहरु अघि बढाइरहेको भन्दै यस अभियानमा पनि विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने अपेक्षा गरे ।