काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।
अब विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय, बल्खु पुगेर कागजी फारम भर्नु र लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्ति पाउने छन् । अनलाइन सेवा सुरु भएपछि घरमै बसेर आवेदन दिन सकिनेछ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याएको हो । हालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाट दिने सुविधा लागू गरिएको छ भने अन्य सेवाहरू पनि क्रमशः अनलाइनमै ल्याउने योजना रहेको उनले बताए ।
उनले भने, 'आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनमार्फत सञ्चालन हुनेछ ।'
विद्यार्थीहरूले student.tuexam.edu.np मा लगइन गरी दिइएका निर्देशन अनुसार अनलाइन फारम भर्न सक्ने छन् । तोकिएको शुल्क अनलाइन बैंकिङमार्फत भुक्तानी गरी फारम सबमिट गर्न सकिनेछ ।
जोशीका अनुसार प्रारम्भिक चरणमा रजिस्ट्रेसन कार्डमा उल्लेख भएअनुसार मार्कसिटहरूमा एकरूपता भएमा सोही अनुसार आवेदन दिन सकिनेछ, नभएमा ‘करेक्सन अप्सनमा’ गई सच्याएर सबमिट गर्नुपर्नेछ ।