अध्यक्षको राजीनामा र लकइन सकिएपछि बलेफी हाइड्रोको सेयर मूल्यमा पहिरो

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन (वैशाख २ गते) सेयर बजार २७ अंकले बढेको छ भने ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलबार विभिन्न ४ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार करर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । साथै यी कम्पनीसहित अन्य २१२ कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

तर, वर्षको पहिलो दिन नै बलेफी हाइड्रोपावरको सेयर मूल्यमा व्यापक गिरावट आयो । कम्पनीको सेयर मूल्य ९.६९ प्रतिशत अर्थात् २५.५० रुपैयाँ घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो एक वर्षकै कम सेयर मूल्य हो । कम्पनीको सेयर मूल्य आज मात्रै होइन, पछिल्ला ९ कारोबारमा समेत निरन्तर ओरालो लाग्दै आएको हो । 

सेयर मूल्यमा व्यापक गिरावटसँगै आज सर्वाधिक कारोबार हुनेको पहिलो सूचीमा समेत बलेफी परेको छ । सेयर मूल्यमा व्यापक गिरावट र सर्वाधिक कारोबार भएपछि पुँजी बजारमा चासोको विषय बनेको छ बलेफी हाइड्रोपावर । कम्पनीको  २ अर्ब १ करोड रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ । 

गत फागुन २२ गते सूचना जारी गर्दै कम्पनीका संस्थापक, आयोजना प्रवाभित क्षेत्रका बासिन्दा र कर्मचारीहरूको सेयर लकइन अवधि चैत २९ गते समाप्त हुन लागेको जानकारी गराएको थियो । लकइन अवधि समाप्त भएको सूचनापछि त कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । २५ कारोबार दिनमा ६ दिन मात्रै सेयर मूल्य बढेको छ भने बाँकी दिन घटेको देखिन्छ । 

कम्पनीका अनुसार चैत २९ गतेदेखि संस्थापक सेयरधनीको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित बासिन्दाको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीको ७३ हजार ११९ कित्ता गरी कुल १ करोड ६५ लाख २८ हजार ८४९ कित्ता सेयरको लकइन समाप्त भएको हो । 

बलेफी हाइड्रोपावरका अनुसार लकइन अवधि सकिएपछि पुँजी बजारमा सेयर सप्लाइ बढेकाले मूल्यमा चाप परेको हो । जसकारण कारोबार रकम बढ्यो भने सेयर मूल्य नकारात्मक सर्किट नजिक पुगेको कम्पनीले जनाएको छ ।

‘कम्पनीको सेयर लकइनमा थियो । झ्याप्पै लकइन खुल्यो । योबेला घट्ने समय नै हो । किनभने सप्लाइ धेरै छ डिमाण्ड कम छ,’ कम्पनीका ती कर्मचारीले भने, ‘लकइन अवधि खुलेका कारण नै सेयर मूल्य झरेको हो ।’ 

साथै, यही बेला संजय कुमार साहले सञ्चालक समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिएका कारण पनि लगानीकर्ताहरूमा नकारात्मक प्रभाव परेको हुन सक्ने कम्पनीका ती कर्मचारीको भनाइ छ । साहले अध्यक्ष पदबाट दिएको राजीनामा सञ्चालक समितिको गत चैत २७ गते बसेको बैठकले स्वीकृत भएको छ ।

कार्य व्यस्तताका कारण भनेपनि संचालकहरूमा विवाद उत्पन्न भएकाले साहले राजीनामा दिएको स्रोतको भनाइ छ । 

साथै बाँकी अवधिका लागि चैत २७ गतेदेखि लागू हुनेगरी बिदुर पराजुली अध्यक्ष पदमा नियुक्त भएको कम्पनी सचिव अस्मिता अधिकारीले जानकारी दिइन् । 

बलेफीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपात अथात् १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीको सेयर मूल्य समायोजन गर्नु परेकाले पनि सेयर मूल्यमा गिरावट आएको ती कमर्चारीको दाबी छ । 

‘यसअघि हकप्रद सेयरका लागि सेयर मूल्य समायोजन भएपछि कमपनीको सेयर मूल्य निरन्तर ओरालो लागेको हो ।  मूल्य समायोजन भएपछि छिट्टै लकइन खुलेकोले त्यसको प्रभाव परेको हो,’ ती कर्मचारीले भने । 

३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा २० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण लगानीकर्ताहरूको छ भने बाँकी संस्थापक समूहको रहेको छ । कम्पनीको सबैभन्दा ठूला सेयरधनी शुलभ अग्रवाल हुन् । उनको यस कम्पनीमा १४.६० प्रतिशत सेयर स्वामित्व छ । यस्तै, सुशिल गुप्ताको १४ प्रतिशत, शक्ति कुमार गोल्याणको १२.५५ प्रतिशत, सन्दीप कुमार शारदाको ११.३४ प्रतिशत, प्रभा गोयन्का (भिमसरिया)को ७.९६ प्रतिशत र उमेश कसजुको ६.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

Share News