काठमाडौं । शिक्षक र कर्मचारीको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण ढिलाइ हुने भएको छ । यसले परीक्षाको नतिजा प्रकाशन पनि ढिलो गराउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरू परीक्षण केन्द्रमा पठाइए पनि शिक्षकहरूले परीक्षण कार्य सुरु गरेका छैनन् । 'उत्तरपुस्तिका केन्द्रमा राखिएको छ, तर शिक्षक जाँच्न आएका छैनन्,' परीक्षा नियन्त्रक भट्टराईले भने, 'परीक्षण शिक्षकले गर्ने हो, अरुले गर्न मिल्दैन ।'
उनले उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै शिक्षक चाँडै फर्किने विश्वास व्यक्त गरे ।
यस वर्ष चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले असार पहिलो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको थियो । तर आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण नै सुरु नहुनु नतिजा ढिलाइको मुख्य कारण बनेको हो ।
२० चैतदेखि शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनका कारण सरकारी विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान रोकिएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक नतिजा प्रकाशनजस्ता शैक्षिक गतिविधिमा पनि असर परेको छ ।