२०८२ भित्र काठमाडौंमा सय बढी ईभी गुडाउने मयुर यातायातको तयारी, भाडा अनलाइनबाटै, जेष्ठ नागरिकलाई निःशुल्क

काठमाडौं । मयुर यातायात प्रालिले १ सय वटा ईभी बस (विद्युतीय सवारी) सञ्चालनमा ल्याउने तयारी थालेको छ ।  ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मयुर यातायातले २०८२ सालभित्र १ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याउने योजना बनाएको हो । 

मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठका अनुसार हाल मयुरको नाममा ९० वटा बस (स्वागतम यातायातसहित) बजारमा गुडिरहेका छन् । कम्पनीको योजना अनुसार थप १ सय विद्युतीय बस सञ्चालनको तयारीमा रहेको उनले बताए । 

‘हामीले ४ सयभन्दा बढी ईभी बस ल्याउने योजना बनाएका छौं । कुल २२ अर्बको प्रोजेक्ट छ । एउटा बसको मूल्य नै करोड पर्छ । चीनबाट ल्याउन लागेका छाैं,  पहिलो चरणमा १ सय वटा ल्याउँछौं । २०८२ मा काठमाडौं उपत्यका मयुरमय हुन्छ,’ उनले भने ।  

अब आउने विद्युतीय बसहरूको रुट परमिट पनि निर्धारण भइसकेको छ । उनका अनुसार साँखुदेखि दक्षिणकाली, नारायाणथानदेखि गोदावरी, रिङरोड (चक्रपथ) र थानकोटदेखि धुलीखेल रूटमा बसहरू गुड्नेछन् । साथै विद्युतीय बसहरू पूर्णरूपमा क्यासलेस (नगदरहित) हुने छन् । 

‘विद्युतीय बसहरूलाई क्यासलेसको योजना छ । कार्डको माध्यमबाट भाडा रकम तिर्नुपर्ने हुन्छ । कार्डमा नागरिकता नम्बर र फोटो हुनेछ । नगदको जमाना सकियो । साथै वृद्धवृद्धाहरूका लागि जेष्ठ नागरिक कार्ड वितरण गर्ने योजना छ । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई पैसा लाग्दैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘मुख्य ठाउँमा कार्ड बिक्री लागि काउन्टर राख्नेछौं । बसमा यात्रा गर्दा अनिवार्य कार्ड बोक्नुपर्ने हुन्छ । त्यो कार्ड लिएपछि नि:शुल्क यात्रा गर्न मिल्नेछ ।’ 

एक वर्ष अगाडि नै चाइनिज कम्पनीसँग विद्युतीय बसका सम्झौता भइसकेको श्रेष्ठले दाबी गरे । अर्कै कम्पनीको नाममा बसहरू दर्ता भएपनि मयुरको नामबाटै बजारमा गुड्ने उनले बताए । कम्पनीमा भने २/३ जना अन्य लगानीकर्ता रहेको उनले बताए । 

‘एकवर्ष अगाडि म आफै चीन गएर चाइनाको एक कम्पनीसँग सम्झौता बुक गरेको छु । यसमा अरू पनि लगानीकर्ता छन् । कम्पनी अर्कै नाममा दर्ता भएपनि सञ्चाल भने मयुरको नाममा हुनेछ,’ उनले भने ।

बस खरिदका लागि ग्लोबल आइएमई, हिमालयन बैंकबाट ऋण लिने सहमति भइसकेको छ । तर, बसहरू बजारमा गुडेपछि मात्रै कर्जा लिने अध्यक्ष श्रेष्ठको भनाइ छ । 

मयुर यातायात प्रालिका सञ्चालक राजकुमार टकाची ईभी बस ल्याउने छलफल भएपनि कहिलेसम्म ल्याउने भनेर जानकारी नरहेको बताउँछन् । साथै आफू मयुर यातायातको नाम मात्रैको सञ्चालक रहेको जानकारी दिए । 

‘केही परेको बेला सल्लाह दिन्छु । म मयुरमा संलग्न भएको ५/६ महिना भयो । एक/दुई जनालाई मैले पैसा दिएको थिएँ । उनीहरूले त्यो बापतको सेयर मेरो नाममा गरिदिएको हो,’ उनले भने, ‘ईभी ल्याउने विषयमा छलफल भएको हो । एक सय वटा ईभी ल्याउने भन्ने छलफल भएकाे थियाे ।’ 

साथै बस ल्याउन कर्जाका लागि बैंकसँग सम्झौता भएको आफूले सुनेको उनले बताए । तर, नेपालमा बाटो राम्रो नभएकाले धेरै गाडी ल्याउनु नहुने भनेर सुझाव दिएको उनको भनाइ छ । 

अध्यक्ष श्रेष्ठका अनुसार ग्वार्काे पुल समयमा निर्माण सम्पन्न नहुँदा बस सञ्चालनमा ढिला भएको छ । जहिले ग्वार्काे पुल निर्माण सम्पन्न हुन्छ, त्यसको एक साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने उनको भनाइ छ । 

‘एक वर्षदेखि बस ल्याउने भनिरहेका छौं । तर, गफमात्रै जस्तो भइरहेको छ । यसअघि एक महिनाभित्र बस चलाउने तयारी थियो । फेरी पुल निर्माण कार्य पछि धकेलिँदा बस ल्याउन पनि धकेलिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘व्यवसाय विस्तारमा समेत असर परिरहेको छ । पुल निर्माण नभई बसहरू ल्याउँदा जाम पर्ने भएकाले तत्काल नल्याएको हो ।’  

मयुर यातायातमा बहुमत सेयर मोहनबहादुर श्रेष्ठको नाममा रहेको छ । 

Share News