काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तयारी पूरा गरे पनि शिक्षकहरूको जारी आन्दोलनका कारण परीक्षा प्रभावित हुने चिन्ता देखिएको छ ।
शिक्षकहरुले परीक्षा व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले गर्दा बोर्डले निर्धारण गरेको तालिका अनुसार परीक्षा सञ्चालनमा अन्योल सिर्जना भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आन्दोलन यथावत रहेमा परीक्षा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, 'आन्दोलन रोकिएन भने असर पर्न सक्छ, तर सरकार र शिक्षकबीच संवादबाट समाधान निस्कनेमा विश्वास लिएका छौँ ।'
बोर्डले परीक्षा सञ्चालनका लागि तयारी पूरा गरेको जनाएको छ । शर्मा भन्छन्, 'परीक्षा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई भनिसकेका छौं । विद्यार्थीको भविष्य हाम्रो साझा चिन्ता हो । कक्षा १२ को परीक्षा उच्च शिक्षाको प्रवेशद्वार मात्र नभई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ। त्यसैले एक दिनको असरले पनि ठूलो प्रभाव पर्न सक्छ ।'
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले करिब पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने जानकारी दिए । 'क्यालेन्डर अनुसार तयारी भएको हो, परीक्षा तोकिएको मितिमा नै हुन्छ भन्ने विश्वास छ,' उनले भने ।
शिक्षकहरूले आफ्नै विद्यार्थीको परीक्षा अवरुद्ध गर्ने काम नगर्ने विश्वास राष्ट्रिय परीक्षा बोर्डले व्यक्त गरेको छ । तर आन्दोलन चाँडै अन्त्य नहुने हो भने परीक्षाको सञ्चालनमा गम्भीर असर पर्न सक्ने प्रष्ट देखिएको छ ।