खाद्यवस्तु परीक्षण गर्न भारत जानुपर्ने बाध्यता हट्यो, नेपालका दुई प्रयोगशालाले पाए अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ । नेपालमा रहेका दुईवटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । 

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो । 

भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । 

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराए । 

अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ । 

उनले भने, 'नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।'

निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौं, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । 

सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् । 

भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उहाँले बताए ।

उनले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने बताए ।

अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताउनु भयो । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्यून गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उनको भनाइ छ ।
 
विभागले यो एउटा सुखद् सुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । 

विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडि नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ । 

विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् । 
 

Share News