काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति गोरखा सभापति स्व. चन्द्रप्रसाद न्यौपानेको स्मृति दिवस एवं ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले लोकतन्त्र नै मुल आधार भएको भन्दै एकअर्कालाई निषेध नगरी गुण सिकेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, 'लोकतन्त्र नै प्रमुख कुरा हो। उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एकअर्काका राम्रा गुणहरू सिक्दै, खराब गुण त्याग्दै अघि बढ्नुपर्छ।'
पछिल्लो समय प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रहितलाई केन्द्रमा राख्दै सबै दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए ।
डा. भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै विचारधाराबाट सिकेर अगाडि बढेको व्यक्ति भएको स्पष्ट पारे । उनले २०३३ सालसम्म काँग्रेससँग निकटता राखेको, पछि कम्युनिस्टहरूसँग मिलेर गणतन्त्र स्थापनामा योगदान दिएको उल्लेख गरे ।
उनले थपे, 'म सामन्तवाद, निरङ्कुशता र राजतन्त्रविरोधी चेतना बोकेको मान्छे हुँ । म अलिकति काँग्रेस पनि हुँ, अलिकति कम्युनिस्ट पनि । दुवैको गुण लिएर अगाडि बढेको मान्छे हुँ ।'
राजनीतिमा मूल्यमान्यता र निष्ठाको सट्टा व्यक्तिको तडकभडक र सम्पत्तिप्रतिको मोह बढेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।