काठमाडौं । हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसपछिका घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गम्भीर ध्यानाकर्षण भएको छ ।
धार्मिक, साँस्कृतिक र जातीय विविधता रहेको समाजमा आपसी सम्मान, भाइचारा र सहिष्णुता आवश्यक रहेको भन्दै मन्त्री गुप्ताले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले समाजमा शान्ति र सहअस्तित्व कायम राख्नका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
मन्त्री गुप्ता घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेको र घटनाको गम्भीरता अनुसार दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य अत्यन्त दुःखद र चिन्ताजनक हो,' मन्त्री गुप्ताले भनेका छन्, 'नागरिकले एक अर्काको धार्मिक विश्वास र परम्पराप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो ।'
झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलबीच सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । सो बैठकले तयार पारेको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई तिव्रता दिन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।
मुलुकको प्रमुख आर्थिक केन्द्रको रूपमा रहेको वीरगञ्जमा सामाजिक सद्भावमा खलल ल्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै उनले सबै नागरिकलाई संयमित, विवेकी र सजग रहन अनुरोध गरेका छन् ।