काठमाडौं । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुर्व्यवहारको आरोपमा प्रहरी अनुसन्धान अघि बढेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर अन्तर्गत भद्रकालीस्थित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले अहिराजविरुद्ध यौन दुर्व्यवहार सम्बन्धी उजुरीका आधारमा अनुसन्धान थालेको हो ।
परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिलराज बोहराले उजुरी परेकाले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । ‘दावी गरिएको घटनाको वास्तविकता के हो ? घटना भएको हो कि होइन ? निहित स्वार्थले आरोप लगाइएको पो हो कि भन्ने समेत हेर्दैछौं,’ उनले भने ।
हालसम्म अहिराजविरुद्ध औपचारिक रूपमा पक्राउ पुर्जी जारी भएकोरनभएको पुष्टि नभए पनि प्रहरीले सबै पक्षको बयान लिने र आवश्यक प्रमाण संकलनको प्रक्रिया अघि बढाएको जनाएको छ ।
राजेश अहिराज २०७६ सालमा मधेस प्रदेशका प्रदेश प्रमुखका रूपमा नियुक्त भएका थिए । राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रमा सक्रिय रहेका अहिराजमाथि लागेको आरोप पुष्टि भए–नभएको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।