काठमाडौं । स्थानीय बजारमा उपभोक्ताका लागि राहत हुने गरी खाने तेलको मूल्यमा गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघले १ वैशाखमा सार्वजनिक गरेको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।
संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्दै आएको छ । पछिल्लो विवरण अनुसार हाल भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँमा किनबेच भइरहेको छ भने काँचो तोरीको तेल २४५ देखि ३२५ रुपैयाँको दायरामा छ ।
यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २५० रुपैयाँमा किन्न पाइन्छ । यसअघि १५ चैतमा यी दुई तेलको मूल्य प्रतिलिटर २५५ रुपैयाँ थियो ।
बजारमा मूल्य घटेसँगै तेलको माग पनि क्रमशः बढ्दै गएको खुद्रा व्यापारीहरुको भनाइ छ ।