काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । साथै, ६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त ‘बाल भिटा’ आहार र नियमित खोप छुटेकालाई खोपसमेत उपलब्ध गराइनेछ ।
स्वास्थ्य सेवा विभागका अनुसार दुई दिने अभियानमा करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिएको छ ।
पोषण शाखाका प्रमुख लिला विक्रम थापाका अनुसार देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका अभियानमा खटिनेछन् ।
भिटामिन ‘ए’ को अभावले बालबालिकामा दृष्टि समस्या, कुपोषण र रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा यस कार्यक्रमले दीर्घकालीन स्वास्थ्य सुधारमा योगदान पुर्याउँदै आएको छ ।
यस कार्यक्रम अन्तर्गत देशभरका आमाबाबुलाई आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा पुगी औषधि खुवाउन आग्रह गरिएको छ ।
सरकारले भिटामिन ‘ए’ कार्यक्रम वि.सं. २०५० देखि र जुकाको औषधि वितरण वि.सं. २०५६ देखि सुरु गरेको हो ।
भिटामिन ‘ए’ का प्राकृतिक स्रोतहरूमा चुकन्दर, साग, पालक, गाजर, तरबुजा, मकै, आँप, मटन, डेरीजन्य वस्तु लगायतका रङ्गीन फलफूल र तरकारी पर्नेछन् ।
भिटामिन ‘ए’ हड्डी मजबुत पार्ने, घाउ निको पार्ने, छाला स्वस्थ राख्ने र प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण पोषक तत्व हो ।
यस कार्यक्रमले प्रत्येक वर्ष वैशाख ६-७ र कात्तिक २-३ गते दुई चरणमा देशभर सञ्चालन हुँदै आएको छ ।