काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच दीर्घकालीन सहकार्यको सम्झौता भएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने उद्देश्यले आइतबार दुबै संस्थाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रविधिमा दक्ष जनशक्ति उत्पादन, अनुसन्धान तथा तालिम, सेमिनार र इन्टर्नशिप अवसर उपलब्ध गराउने कार्यमा दुवै पक्षले संयुक्त रूपमा काम गर्नेछन् । सहकार्यका कार्यक्रम समन्वय गर्न विश्वविद्यालयबाट डा. राजीव सुब्बा र महासंघबाट रणजित कुमार पोदारलाई फोकल पर्सन तोकिएको छ ।
सम्झौता पाँच वर्षसम्म लागू हुनेछ र आवश्यकताअनुसार परिमार्जन वा विस्तार गर्न सकिनेछ । क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेका अनुसार यो सहकार्यले नेपालको आईसीटी क्षेत्रको दीर्घकालीन विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
यसैबीच, मदन भण्डारी विश्वविद्यालयले स्नातकोत्तर तहका दुई प्रमुख शैक्षिक कार्यक्रम-मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्मको व्यवस्था गरेको छ । आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म कायम गरिएको छ भने छनोटको नतिजा अप्रिल २६ मा प्रकाशित हुनेछ ।
छात्रवृत्ति पाउनका लागि न्यूनतम २.७५ जीपीए (४ स्केलमा) वा सो सरहको अन्तर्राष्ट्रिय डिग्री आवश्यक हुनेछ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।
यस सहकार्यले शिक्षालय र उद्योगबीचको सम्बन्ध मजबुत बनाउने, विद्यार्थीलाई व्यावसायिक वातावरणमा तालिम दिने र नेपाली आईसीटीमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।