ई-सेवाबाट १ करोड रुपैयाँ चोरी, २२ वर्षीय युवक पक्राउ

काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट १ करोड २ लाख रुपैयाँभन्दा बढी चोरी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने राहुल बुढा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले फिसिङ लिंक प्रयोग गरी ४ हजारभन्दा बढी प्रयोगकर्ताको ई–सेवा खाताबाट रकम चोरी गरेका थिए ।

उनले 'द अलर्ट, एटी अलर्ट' जस्ता फिसिङ लिंक एसएमएसमार्फत पठाउँथे, जसमा 'तपाईंको खाता सस्पेन्ड हुन लाग्यो, कृपया भेरिफाइ गर्नुस्' भन्ने सन्देश राखिन्थ्यो ।

लिंक खोलेपछि प्रयोगकर्ताको विवरण लिएर ई–सेवामा पहुँच पुर्याई रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएको रकम पशुपति ग्लोबल इनोभेशन प्रालिका मर्चेन्ट खाताहरूमा जम्मा गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार युवकविरुद्ध साइबर अपराध र आर्थिक ठगी अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Share News