‘गाडी एसेम्ब्लीमार्फत लक्ष्मी ग्रुपले बहुआयामिक क्षेत्रमा औद्योगीकरण र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ’

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चैत ११ गते  क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । यो गाडी नेपालमै एसेम्बल भएका हो । यससँगै अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए । उनै थपलियासँग विकासन्युजले एसेम्ब्ली सम्बन्धी गरेको कुराकानीको सम्पादित अंश : 

नेपालमै गाडी एसेम्ब्ली सुरु गर्नु आफैमा एउटा साहसी निर्णय हो । यो कसरी सम्भव भयो ?

लामो समयदेखि नेपाल आयात–निर्भर मुलुक हो । गाडीजस्तो मूल्यवान वस्तु पूर्णरूपमा बाहिरबाट ल्याउने चलन थियो, जसले देशको अर्थतन्त्रमा दबाब पर्थ्यो । यस्तै अवस्थामा हामीले राष्ट्रमै मूल्य राख्ने साेंच राख्यौं । हुन्डाईजस्तो विश्वसनीय ब्रान्डसँगको सहकार्यले हामीलाई नेपालमै एसेम्बलिङ सुरु गर्ने आत्मबल दियो । यो परियोजना केवल व्यापारिक दृष्टिकोण मात्र होइन, देशमै रोजगारी सिर्जना गर्ने, प्राविधिक दक्षता बढाउने र अर्थतन्त्रलाई बलियो बनाउने एउटा ठूलो कदम हो ।

औद्योगिकीकरणको यात्रा चारपाँग्रे सवारीसाधनबाटै किन सुरु गरियो ?

गाडी नेपालको दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु हो- पेट्रोलियम पदार्थपछि । यसले ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । यदि हामीले गाडी आफै एसेम्ब्ली गर्न थाल्यौं भने त्यसले ठूलो मात्रामा मुद्रा बचत गर्छ, साथसाथै स्थानीय उद्योगहरूलाई पनि चलायमान बनाउँछ । गाडी एसेम्ब्लीसँगै ढुवानी, पार्ट्स सप्लाई, तालिम केन्द्र, सर्भिस वर्कसप जस्ता धेरै उद्योग खुल्छन् । यसले समग्र औद्योगिक प्रणालीमा गहिरो असर पार्छ ।

युवाहरू र इन्जिनियरिङ क्षेत्रमा के प्रभाव परेको छ ?

एसेम्ब्लीको सुरुबाटै युवाहरूलाई आधुनिक प्राविधिक तालिम दिने काम गरियो । अहिलेसम्म २०० भन्दा बढी इन्जिनियर र प्राविधिकले हुन्डाईबाट तालिम पाइसकेका छन् । जसमा सेन्सर क्यालिब्रेसन, टर्क एक्युरेसी, इलेक्ट्रिक कोडिङ र डाइनोग्टिक, चेसिस टेस्टिङ, अटोमेसन टूल्सको प्रयोग जस्ता अत्याधुनिक सीप सिकाइन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा—यी सीपहरू अब केवल कागजी प्रमाणपत्रमा सीमित छैनन्, युवाहरूले यसमा प्रत्यक्षरूपमा काम गरिरहेका छन् । उनीहरू नेपालबाट सर्टिफिकेट लिएर वैश्विक प्रतिस्पर्धामा उत्रिन सक्छन् । 
अझ रमाइलो कुरा त के छ भने– विदेश जान सोच्ने धेरैजना अब यहीँ फर्केर काम गर्न चाहिरहेका छन् । एसेम्ब्ली प्लान्ट एउटा ‘ब्रेन गेन’ को केन्द्र बन्दै गएको छ ।

के अब पार्टपुर्जा पनि नेपालमै बनाउने योजना छ ?

बिल्कुलै छ । सुरुमा सबै पाट्र्स आयात गरिए पनि अब हामी स्थानीयकरणको चरणमा छौं । चेसिस बाहेकका धेरै कम्पोन्ट्स- जस्तै बम्पर, डासबोर्ड फ्रेम, फम सीट, वाइरिङ हार्नेस, एसी डक्ट, प्लास्टिक क्लाडिङ आदि नेपालमै उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन भइरहेको छ । स्थानीय उद्यमीहरूसँग ओइम स्तरको पाट्र्स विकासको अध्ययन भइरहेको छ । यसको अर्थ- नेपालमै उत्पादन, नेपालमै रोजगारी र नेपाल मेड इकोसिस्टमको विकास ।

के एसेम्ब्ली प्लान्टले नेपाली औद्योगिक भविष्य निर्माण गर्ला त ?

अवश्य गर्छ, एसेम्ब्ली प्लान्टले केवल गाडी उत्पादन गर्दैन, यो देशभित्र औद्योगिक चेतना र साेंचको रूपान्तरण पनि हो । अहिले नेपाली युवाले उद्योग भनेको ‘बिग ड्रिम’ होइन, ‘अटेनेबल करिअर’ हो भन्ने बुझ्न थालेका छन् । जापान, थाइल्यान्ड, भियतनाम, मलेसिया जस्ता देशहरूले पनि औद्योगिकीकरणको यात्रा यस्तै एसेम्ब्ली प्लान्टबाटै सुरु गरेका थिए । नेपाल पनि अहिले त्यो मोडमा उभिएको छ ।

नीति निर्माताले कस्तो सहयोग पु¥याउनुपर्छ ?

सरकारको नीतिगत सहयोग अत्यन्त आवश्यक छ । यदि सरकारले एसेम्ब्ली उद्योगलाई स्पष्ट नीति जस्ता सहुलियत दिन सक्छ भने निजी क्षेत्रले झन ठूलो लगानी ल्याउन सक्छ । त्यस्तै, एकीकृत औद्योगिक क्षेत्र सेज, लोजिस्टिक पार्क, टेस्ट ट्र्याक जस्ता पूर्वाधारको विकासले यो अभियान विस्तृत रूपमा  फैलिन्छ । त्यसैले अब दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ ।

के यस्तो प्रकारको औद्योगिक कार्यक्रमले ब्रेन ड्रेन कम गर्न सक्छ ?

हो, कम मात्रै होइन, अब उल्टो प्रक्रिया सुरु भइसकेको छ- ब्रेन गेन । धेरैजना विदेश पढेर फर्किएका युवाहरू अब नेपालमै असेम्ब्ली, रिसर्च एन्ड डेभलपमेन्ट, प्लान्ट अपरेशन, क्वालिटी एस्सूरेन्स, आईटी सिस्टम इन्टिग्रेसनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । यहाँको एक्सपोजरले उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यतासमेत दिनेछ । यस्तो प्रविधिको विकासले विदेश पलायनमा रोक लगाउनुका साथै फर्किसकेकाहरूलाई देश निर्माणमा जोड्ने मौका दिएको छ ।

यो केबल असेम्ब्ली हो कि खास प्रविधि हस्तान्तरण पनि हो ?

यो केवल बाहिरबाट  पाट्र्स ल्याएर स्क्रू जोड्ने प्रक्रिया होइन । हामी जाँच गर्ने उपकरणमार्फत् ईसीयू प्रोग्राम गर्छौं, स्टेरिङ क्यालिब्रेसन, ब्रेक टेस्टजस्ता कामहरू नेपालकै प्लान्टमा हुन्छन्।  प्लान्टमा भेहिकल एसेम्ब्ली सफ्टवेयर, रोबोटिक टुल कन्ट्रेल र क्वालिटी टेस्ट बेन्चहरु जडान भएका छन् । यो सही अर्थमा प्रविधिको हस्तान्तरण हो, जसले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय ओईम स्तरको काम गर्न सिपालु बनाएको छ ।

के लक्ष्मीले ईभी पनि एसेम्बल गर्ने योजना बनाएको छ त ?

हो हामीले योजना बनाएका छौं । हामीले हुन्डाई क्रेटा ईभी लगायतका मोडेलहरूको लागि ईभी स्पेसिफिक एसेम्ब्ली प्लानिङ सुरु गरेका छौं । ब्याट्री थर्मल म्यानेजमेन्ट, चार्जर इन्टिग्रेसन, आईपी ६७ वाइरिङ हार्नेस, रिजेनेरेटिभ ब्रेकिङ टेस्ट जस्ता ईभीसम्बन्धि अध्ययन गरिनेछ । साथै भविष्यमा ईभी को विकास हाम्रो मुख्य लक्ष्य हो । यो सँगै नेपाललाई ईभी हब बनाउने सम्भावना प्रबल छ । 

के यसले शैक्षिक पाठ्यक्रममा प्रभाव पारिरहेको छ ?

पक्कै पनि । अब पढाइ केवल सिद्धान्त सीमित छैन । पुलचोक, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरूसँगको सहकार्यले विद्यार्थीहरू प्रत्यक्ष रूपमा औद्योगिक वातावरणमा सहभागी भइरहेका छन् । धेरै विश्वविद्यालयहरूले अटोमोबाइल इलेक्ट्रोनिक्स, मेकाट्रोनिक्स इन्टीग्रेसन, इभी सिस्टम, भेहिकल सफ्टवेयर इन्टिग्रेसन जस्ता विषयहरू पाठ्यक्रममा थप्न थालेका छन् । यो शिक्षा र उद्योग बीचको सेतु हो ।

असेम्ब्ली प्लान्टले अन्य क्षेत्रहरूमा कस्तो असर पारेको छ ?

हामीले एसेम्ब्ली  प्लान्ट  सुरु गरेसँगै अहिले धेरै क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने देखिएके छ । जस्तै विद्यार्थीहरूले अब औद्योगिक सीप सिक्न थालेका छन् । बैंकहरूले पनि औद्योगिक प्रोजेक्ट फाइनान्सिङमा लगानी गर्न थालेका छन् । यसैगरी, उद्योगहरूलाई निरन्तर रूपमा ऊर्जा दिन नयाँ सौर्य र ग्रिड प्रोजेक्टहरू अघि बढ्दैछन् । आईटी क्षेत्रमा पनि स्वचालित प्रविधि, सफ्टवेयर लगायतमा सकारात्मक प्रभाव पारिरहेको हामीले देखेका छौं ।

नेपाली उद्यमीहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

अब उद्यमशीलताको परिभाषा बदलिँदैछ । केवल डिलरसिप वा शोरूमसम्म सीमित नरहेर, सफ्टवेयर डेभलपमेन्ट, पाट्र्स डिजाइन, क्वालिटी एस्सुरेन्स, ट्रेनिङ सर्भिसेज, लोजिस्टिक्सजस्ता धेरै सम्भावनाहरू खुलेका छन् । अब ‘खरिद तथा बिक्री’मात्र होइन, ‘निर्माण तथा बिक्री’ मा जानुपर्ने समय हो । हामीले पनि यात्राबाट यात्रा सुरु गरेका थियौं, तपाईं पनि सक्नुहुन्छ । 

अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
 

Share News