मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन । 

Share News