९ महिनामा साढे २ अर्ब राजस्व सङ्कलन, कर बक्यौता राख्नेको बैंक खाता र जग्गा रोक्का गर्दै

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए । 

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ९ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । 

कार्यालयले ९ महिनामा आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार रुपैयाँ, ब्याज बापत ७ करोड १९ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत ७६ करोड ७१ लाख ९ हजार रुपैयाँ, अन्तःशुल्क बापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी १ करोड ७५ लाख रुपैयाँ असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए । 

‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने । 

Share News